
बागलुङ ।
बागलुङ नगरपालिका वडा नम्बर ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौं घरपरिवारले दसैंको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् ।
भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षापछि जमिन बग्न थालेको थियो । निरन्तर बगिरहेको जमिनमा दसैंका बेला भइरहेको भारी वर्षाले झन् असर गरेको छ । जमिन बग्दा सडक, ठूला पीपलका रूखसमेत बगेका छन् ।
पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरा फार्म लगायत सबै पुरिएका छन् । कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन् ।
‘पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो,’ वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे ।’ भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ।
‘आफ्नो घर छ, तर पहिरोले राज गरेको छ। अर्कैको घरमा दसैं मनाउनुपर्यो। बासबिनाको दसैं खल्लो भयो,’ स्थानीय कुलराज शर्माले भने, ‘छिमेकीका घर पनि चिरा परेका छन् । जुनसुकै बेला खस्छन् । हाम्रो दसैं भागाभागमै बित्यो । यो बस्तीका खानेपानीको ट्यांकसमेत बगेपछि स्थानीयवासी चिन्तामा छन् ।
उक्त पहिराले दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिए । जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उनले बताए। पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ।
‘यो संकेत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो । पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए,’ पौडेलले भने, ‘अर्बौं खर्चेर पनि रोकथाम हुने अवस्था छैन ।’ बगेको पहिरोले जैमिनी नगरपालिका वडा नम्बर १ को ओडार भन्ने स्थानमा पनि दर्जन घर विस्थापित भएका छन्। उनीहरूले पनि यो वर्षको दसैं आफ्नो घर छोडेर अर्कैको घरमा मनाए। रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया