आचारसंहिता उल्लंघन गरे जनप्रतिनिधिलाई कारबाही

समाधान संवाददाता २०७९ असोज २७ गते ११:०७

काठमाडौं ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिएको छ । आयोगले त्यसबारेमा ३ बुँदे निर्देशन जारी गरेको छ । कतिपय स्थानीय तहका कार्यपालिका सदस्यले निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचार गरेका छन् । त्यसैलाई लक्ष्य गरी आयोगले निर्देशन दिएको हो ।

Advertisement

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता भइसकेकाले आचारसंहिता विपरीतका कार्य नगर्न अनुरोध गरिएको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन ।

आफू निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी आचारसंहिता प्रतिकूल नहुने गरी संलग्न हुन सकिने आयोगले जनाएको छ ।

कतिपय स्थानीय तहका कार्यपालिकाका पदाधिकारी र सदस्यले निर्वाचन आचारसंहिता विपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको पक्षमा प्रचारमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाटसमेत देखिएकाले त्यस्तो नगर्न आयोगले ३ बुँदे निर्देशन पनि दिएको छ ।

जसमा स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइए स्पष्टीकरण सोधी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाई निर्देशन दिन भनिएको छ । त्यसको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउन पनि भनिएको छ ।

Advertisement

स्पष्टिकरण प्रक्रिया अघि बढाउन आवश्यकता अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्न पनि निर्देशन दिएको छ । स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया