अझै तयार भएन हक्की मैदान

समाधान संवाददाता २०७९ असोज २७ गते ११:३८

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारदेखि हक्कीका खेल सुरु हुँदै छन् । तर मैदान भने अझै तयार भएको छैन । पुरुषतर्फको खेल हेमजाको गौरिशंकर खेल मैदानमा तथा महिला तर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा हुँदै छन् ।

Advertisement

पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिता जति नजिकिदै छन्, त्यति नै आयोजकलाई प्रतियोगिताको भौतिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । बिहीबारदेखि औपचारिक सुरुवात हुन लागेको हक्की प्रतियोगिताका लागि बुधबार बल्ल हेमजाको गौरिशंकर खेल मैदानका घाँस काट्नुका साथै मैदान व्यवस्थापन गर्ने लगायतका काम गरिएको नेपाल हक्की संघको केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले बताए ।

मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटा र ससाना ढुंगाका टुक्रा जताततै छन्, खेलाडीलाई कसरी खेलाउने ?
हिमाल खड्का
उपाध्यक्ष, नेपाल हक्की संघ


बुधबार पनि राति अबेरसम्म मैदानको घाँस काटिने र बाँकी बिहीबार बिहानैबाट काटिने तथा मैदान मार्किङ लगाएतका कार्य हुने उपाध्यक्ष खड्काले दाबी गरे । हतारहतारमा व्यवस्थापन गरिएका यस्ता खालका पूर्वाधारमा खेलाडीलाई चोटपटकको चुनौति हुने उनले गुनासो गरे ।

‘समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान दिएन । मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटा र ससाना ढुंगाका टुक्रा जताततै छन्, खेलाडीलाई कसरी खेलाउने ?’ उनले प्रश्न गरे । स्थानीय निकाय, खेल व्यवस्थापक लगायत सम्बन्धित निकायबीच समन्वय नभएकाले यस पटकको राष्ट्रिय प्रतियोगितामा दयनीय भौतिक अवस्थामा गराउन लााग्दा दुख लागेको उनले बताए ।

Advertisement

भौतिक पूर्वाधार पर्याप्त नहँुदा हक्की प्रतियोगिता प्रदेशबाहिर लैजादा राम्रो सन्देश नजाने भएकाले चुनौतिका बाबजुद कास्कीमै गराउन लागेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक व्यवस्थापन गर्दै गर्दा कुनै प्रतियोगिता अभाव र चुनौतिका बाबजुद सञ्चालन गर्न लागिएको स्वीकारे ।

गण्डकी प्रदेश आयोजक रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रबाट नै समयमा बजेट प्राप्त नभएकाले समयमा प्रतियोगिताका लागि पूर्वाधार व्यवस्थापन गर्न आयोजक चुकेको गुरुङले बताए । ‘प्रतियोगिताका लागि भौतिक व्यवस्थापनका लागि बजेट प्राप्त भएको छैन, मौखिक रुपमा मात्रै बजेटको कुरा भएको छ,’ सदस्य गुरुङले भने, ‘बजेट नभएकाले हामी यस विषयमा चुकेका छौं ।’

खेलस्थल छनोट व्यवस्थापन हतारमा भए पनि प्रतियोगिता सफल बनाउनका लागि आयोजकका विभिन्न निकाय लागिपरेको उनले बताए । बिहीबार हक्कीमा पुरुषतर्फ ९ टिम र महिलातर्फ ७ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गतका केही खेल भने सुरु भइसकेका छन् ।

तपाईको प्रतिक्रिया