साइमनको राष्ट्रिय सम्मेलन आजदेखि

समाधान संवाददाता २०७९ असोज २८ गते ११:०७

पोखरा ।
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को पाँचौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा सुरु हुँदै छ । शनिबारसम्म चल्ने यो सम्मेलनमा ५० कार्यपत्र प्रस्तुत हुने छन् । साइमन नेपाली फिजिसियन चिकित्सकको सबैभन्दा ठूलो समाज हो ।

Advertisement

यो समाज सन् १९९४ मा स्थापित भएको हो । यसमा ६ सयभन्दा बढी सदस्य छन् । पोखरामा तेस्रो पटक हुन लागेको सम्मेलनका मुख्य स्थानीय आयोजकमा मणिपाल शिक्षण अस्पतालका प्राडा अभिषेक मास्के छन् भने आयोजक प्रमुख सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका मुटुरोग विशेषज्ञ तथा समाजका सभापति डा. अरुण मास्के छन् ।

सम्मेलनका प्रमुख प्राविधिक बिशेषज्ञ चितवन मेडिकल कलेज, भरतपुरका प्राडा शितल अधिकारी छन् । स्थानीय सल्लाहकारमा डा बुद्धिबहादुर थापा, डा वसन्त ताम्राकार, डा गोपी हिराचन र डा मुकुन्द आचार्य छन् । उद्घाटन सत्रको प्रमुख आतिथ्यता शिक्षाविद् जर्ज जोनको रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा बेलायत, भारत, बंगलादेश र माल्दिभ्सका फिजिसियनसमेत सहभागी हुने छन् । मुटुरोग, मिर्गौला रोग, स्नायुरोग, बाथरोग, संक्रामक रोग लगायतका विभिन्न बिषयमा यसमा गहन छलफल तथा विचारविमर्श हुनेछ ।

सम्मेलनको अघिल्लो दिन बेलायतका चिकित्सकले बिभिन्न स्वस्थ्यकर्मीलाई अस्पतालमा उपचार गर्दागर्दै अकस्मात स्थिति बिग्रेको अवस्थामा कसरी उपचार गर्ने भनी तालिम दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया