स्वरोजगार सहकारीको पुँजी करिब २ करोड

समाधान संवाददाता २०७९ असोज ३० गते १२:१५

पोखरा ।
स्वरोजगार कृषि सहकारी संस्था लिमिटेडको पोखरा १७ बिरौटाको २०७९ असार मसान्तसम्मको सेयर पुँजी बढेर १ करोड ८९ लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । गत वर्षको असार मसान्तसम्ममा सहकारीको सेयर पुँजी १ करोड ७८ लाख ४३ हजार ३ सय रुपैयाँ थियो ।

Advertisement

सहकारीको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा अध्यक्ष मनबहादुर भुजेलले सहकारीको कुल निक्षेप १ करोड ७८ लाख ९९ हजार ६ सय ६१ रुपैयाँ रहेको जानकारी दिए । सहकारीको गत असार मसान्तसम्मको कुल निक्षेप १ करोड ७८ लाख ७९ हजार ७ सय ३१ रुपैयाँ थियो ।

सहकारीले यस आर्थिक वर्षमा ३ करोड २९ लाख ५१ हजार १ सय ५७ कर्जा लगानी गरेको छ । सरकारीले गत वर्ष २ करोड ८८ लाख १७ हजार ६ सय ३७ रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष भुजेलले जानकारी दिए ।

सहकारीका सचिव सुवास सापकोटाले सहकारीले ५२ लाख ३७ हजार ५ सय २ रुपैयाँ कुल मुनाफा गरेकोमा ४५ लाख ३९ हजार २ सय १ रुपैयाँ वार्षिक खर्च भएको जानकारी दिए । यस वर्षको आयकर ३७ हजार १ सय ९० रुपैयाँ घटाउँदा ३ लाख ३४ हजार ७ सय ११ रुपैयाँ खुद नाफा गरेको सचिव सापकोटाले बताए ।

अधिवेशनले अध्यक्ष खेमराज सापकोटाको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सहकारीको उपाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव सुवास सापकोटा, सहसचिव पूर्णबहादुर भुजेल, कोषाध्यक्ष यादव गिरी छन् । सञ्चालक समितिको सदस्यमा गोविन्द ताम्राकार, ममता गुरुङ, सुशीला अधिकारी र परमानन्द भुजेल छन् । सहकारीको लेखा सुपरीवेक्षण समितिको संयोजक इन्द्रप्रसाद शर्मा र सदस्यमा सरस्वती आचार्य र सावित्री पोखरेल छन् ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले सहकारीले साना तथा छरिएका पुँजीलाई एकीकृत गरी स्वरोजगारीको सिर्जना गर्नुपर्ने बताए । ‘अब सहकारीले व्यवसायीक योजना बनाएर उत्पादन क्षेत्रमा लगानी गर्नु आवश्यक छ,’ उनले भने, ‘कृषि उद्योग गरेर सेयर सदस्यलाई रोजगारी सिर्जना गर्नु जरुरी छ ।’ उनले नेपालका सहकारीको गरिबी निवारणमा योगदान रहेको बताए ।

सभाले अध्यक्ष मनबहादुर भुजेलले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर भुजेलले पेश गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक ईन्द्रप्रसाद शर्माले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

सभामा सहकारीका संरक्षक धु्रव केसी, वरिष्ठ सल्लाहाकार शुक्रराज सुवेदी, उपाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव सुवास सापकोटाले सहकारीको बारेमा बोलेका थिए । कार्यक्रममा उत्कृष्ट सेयर सदस्यहरु ज्योति गुरुङ, बुद्धिसगर आचार्य र उत्कृष्ट कर्मचारीको रुपमा पुष्पा रानाभाटलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया