नवौं खेलकुदः महिला क्रिकेटमा एपीएफ र पुलिस फाइनलमा

पोखरा ।
नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बल एपीएफ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई र एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
पोखरा रंगशालामा सोमबार पहिलो सेमिफाइलनमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गरेको हो । एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८ ओभर २ बलमा ६२ रनमा समेटियो । लुम्बिनीकी सुस्मीता बजगाईले सर्वाधिक १२ रन बनाइन् । एपीएफकी नेरी थापाले ४ ओभरमा ७ रन खर्चिएर ४ विकेट लिइन् । इन्दु बर्माले १ विकेट लिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय २९ रन बनाएको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन् ।
प्लेयर अफ द म्याच समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन् । टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सिता रानामगरले ११ जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ र मनिषा रानाले १ विकेट लिए ।
दोस्रो सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ३६ रनले पराजित ग¥यो । जितको लागि १ सय २४ रनको बलियो विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनायो । बागमतीको लागि सुमन खतिवडाले सर्वाधिक २३ र कप्तान अश्मिना कर्माचार्यले १८ रन बनाइन् । पुलिसको कविता कुँवरले ३ विकेट, ईश्वरी विष्टले २ विकेट लिइन् । कप्तान रुविना र संगिता राईले १÷१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पुलिसकी ओपनर काजल श्रेष्ठले ५१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाइन् । पुलिस र एपीएफबीचको फाइनल खेल मंगलबार हुनेछ ।
तपाईको प्रतिक्रिया