गण्डकीबाट को–को छन् मुख्यमन्त्रीका दाबेदार ?

एमालेबाट खगराज अधिकारी र माओवादीबाट चुमान एकल दाबेदार देखिए पनि कांग्रेसबाट भने शुक्रराज शर्मासहित ध्रुव वाग्ले, सुरेन्द्रराज पाण्डे र बिन्दुकुमार थापा पनि मुख्यमन्त्रीको दाबेदार छन्

समाधान संवाददाता २०७९ कार्तिक १ गते १०:२१

पोखरा ।
गण्डकी प्रदेशले संघीयता कार्यान्वयनको पहिलो पाँच वर्षमा दुई मुख्यमन्त्री पायो । नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने ।

Advertisement

आसन्न प्रदेशसभा निर्वाचन पछि गण्डकीमा नयाँ अनुहार मुख्यमन्त्री बन्ने पक्का छ । यसअघि मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ संघमा गएका छन् । वर्तमान मुख्यमन्त्री पोखरेल प्रदेश सभा र प्रतिनिधि सभामा उम्मेदवार बन्न पाएनन् । उनले अब राष्ट्रिय सभा सदस्य बन्न पार्टीभित्र लबिङ गरिरहेका छन् ।

प्रदेश सरकारमा अहिले रहेका १२ मन्त्रीमध्ये १० जना प्रदेशमा दोहोरिने छैनन् । मुख्यमन्त्री सहित ९ मन्त्रीको हात आगामी चुनावमा खाली हुँदैछ । अर्थ मन्त्री रामजी प्रसाद बराल ‘जीवन’ संघ ताकेकाले उनी पनि प्रदेशमा आउने छैनन् ।

हालका कानुन मन्त्री विन्दु थापा, खेलकुद मन्त्री राजीव गुरुङमात्रै प्रदेशमा उम्मेदवार छन् । गुरुङ भने निर्वाचन अघि नै सर्वसम्मत चयन भइसकेका छन् । थापा कास्की २ (ख) बाट चुनावी मैदानमा छन् । उनले एमालेकी मीना गुरुङसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

मुख्यमन्त्रीको दाबेदारी अहिलेसम्म गण्डकीमा उम्मेदवार बनेका कसैले पनि गरिसकेका छैनन् । तर पार्टी नेता तथा कार्यकर्ताले केही नेतालाई सम्भावित मुख्यमन्त्रीका रुपमा ‘प्रोजेक्ट’ गरिरहेका छन् ।

Advertisement

मुख्यमन्त्रीको रुपमा नेकपा एमालेबाट प्रमुख दाबेदार मानिएका उम्मेदवार हुन्, खगराज अधिकारी । स्वास्थ्य र गृहमन्त्री भइसकेका अधिकारी गण्डकी प्रदेश सभा सदस्य उम्मेदवारमध्ये नेकपा एमालेका सबैभन्दा वरिष्ठ उम्मेदवार हुन् । यसअघि प्रतिनिधि सभा सदस्य रहेका अधिकारी मुख्यमन्त्री बन्ने आशासहित प्रदेश ओर्लेका हुन् ।

अधिकारी आगामी प्रदेशसभा निर्वाचनमा कास्की १ (क)बाट चुनाव लड्दै छन् । उनका प्रतिस्पर्धी पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दीपक कोइराला हुन् ।
एमालेबाटै मुख्यमन्त्रीका अर्का दाबेदार हुन्, लमजुङका जमिन्द्रमान घले । घले संविधानसभा सदस्य हुन् ।

यसअघि प्रतिनिधिसभा सदस्यमा लड्न चाहे पनि उनी प्रदेशमा लड्दै छन् । नेकपा एमाले उप–महासचिव पृथ्वीसुब्बा गुरुङले घलेलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा उभ्याइसकेका छन् । लमजुङमा एक कार्यक्रममा बोल्दै घले मुख्यमन्त्री वा मन्त्री भएर प्रदेश सरकारमा सहभागी हुन लायक पात्र भएको गुरुङले बताएका थिए ।

प्रदेशको निर्वाचनमा ओर्लेका अधिकारी आगामी निर्वाचनपछि एमालेले सरकार बनाउने दाबी गर्छन् । तर सरकार आफ्नै नेतृत्वमा बनाउनेबारे उनी हालसम्म मौन छन् । अनुकुल परिस्थितिमा आफू मुख्यमन्त्री बन्न सक्ने बताए पनि उनको इच्छा भने मुख्यमन्त्री बन्ने नै हो, जुन अहिलेसम्म मुखरित भने गरिसकेका छैनन् । ‘हामीले प्रत्यक्षमा २२ सिट जित्छौं ।

सरकार एमालेले नै बनाउँछ । तर मुख्यमन्त्री म नै हुन्छु भनेर भन्न सक्ने अवस्था छैन र बेला आइसकेको पनि छैन,’ अधिकारीले भने । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको प्रबल दाबेदार गण्डकी कांग्रेस प्रदेश समितिका सभापति शुक्रराज शर्मा हुन् । शर्मा अहिले नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार छन् । उनी समानुपातिक सूचीमा पहिलो नम्बरमा छन् । समानुपातिक सूचीकै दोस्रो नम्बरमा रहेका तनहुँका ध्रुव वाग्ले पनि कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदार हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य सुरेन्द्रराज पाण्डे अहिले प्रदेशसभा निर्वाचन लड्दै छन् । गोरखाबाट चुनावी मैदानमा रहेका पाण्डे विजयी भएर आएमा उनी पनि आफूलाई मुख्यमन्त्रीको रेसमा राख्न सक्छन् । यस्तै अहिले गण्डकी प्रदेशका कानुन मन्त्री विन्दुकुमार थापा पनि कांग्रेसबाट मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट थापाले मुख्यमन्त्रीको दाउ हेरिरहेका छन् ।

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले घुमाउरो पारामा आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताए । ‘कांग्रेसमै बसेर राजनीति गरिरहेको छु, गण्डकीको सभापति पनि हुँ । अहिलेसम्म ठ्याक्कै भन्न मिल्दैन,’ उनले भने, ‘के सम्म भन्न सक्छु भने गण्डकीमा कांग्रेसकै सरकार बन्छ, सरकार बनाउन हामी लागेकै छौं ।’

माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदार गण्डकी प्रदेशका पूर्व कानुन मन्त्री हरिबहादुर चुमान हुन् । चुमान तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा निर्वाचन लड्दै छन् । यसअघि मन्त्री भइसकेका र माओवादी गण्डकीको संसदीय दलका नेता पनि बनिसकेका चुमान माओवादीबाट मुख्यमन्त्रीको दाबेदार हुन् ।

मुख्यमन्त्री भएर प्रदेश चलाउन आफू इच्छुक रहेको उनी सार्वजनिक रुपमै बताउँछन् । ‘पाएको जिम्मेवारी पूरा गर्न सक्छु भने मुख्यमन्त्रीमा अपेक्षा राख्नु पनि स्वाभाविकै हो,’ उनले भने । पार्टीमा आफू अनुभवी भएको र जिम्मेवारीका हिसाबले पनि केन्द्रीय नेता भएकाले मुख्यमन्त्रीको दाबेदार माओवादीबाट आफू भएको उनले बताए ।

आसन्न प्रदेश सभा निर्वाचनमा १० सिट प्रत्यक्ष जित्ने र ४ जना समानुपातिकबाट माओवादी नेता सांसद बन्ने आँकलन उनको छ । १४ सिट माओवादीको सुरक्षित गरेर गठबन्धनमा माओवादीलाई गण्डकीको मुख्यमन्त्री माग्न सकिने उनको तर्क छ । ‘अहिल्यै यसलाई/उसलाई भनेको छैन । चुनाव पछि माहोल अनुसार मुख्यमन्त्री माग्न सकिन्छ, पहिला त हामीले निर्वाचन अत्याधिक मतले जित्नै पर्छ,’ चुमानले भने ।

तपाईको प्रतिक्रिया