नवौं राष्ट्रिय खेलकुद

पौडीमा एकै दिन बन्यो ७ कीर्तिमान

समाधान संवाददाता २०७९ कार्तिक १ गते १०:५०

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा एकै दिन नयाँ ७ राष्ट्रिय कीर्तिमान बनेका छन् । पोखराको फिस्टेल एकेडेमीमा जारी पौडीमा सोमबार ७ नयाँ राष्ट्रिय कीर्तिमान दर्ज भएका हुन् ।

त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले २ नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । उनले ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ०८.६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाए । यसअघि उनकै नाममा ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान थियो ।

नासिरले १ सय मिटर बटरफ्लाइमा समेत राष्ट्रिय कीर्तिमान बनाए । उनले अनुभव सुब्बाको नाममा रहेको कीर्तिमान ५७.८६ सेकेन्डमा पूरा गर्दै आफ्नो नाममा दर्ता गराए । सुब्बाको नाममा रहेको ५९.७७ सेकेन्डको कीर्तिमान थियोे ।

Advertisement

महिला १ सय मिटर बटरफ्लाईमा एनआरएनएकी एस्ली सापकोटा डंगोलले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारिन् । एस्लीले १ मिनेट ०७.७४ सेकेन्डमा दूरी पूरा गरिन् । एस्लीले गौरिका सिंहको नाममा रहेको १ मिनेट ०९.९७ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएका आशीष सापकोटाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले २ मिनेट २९.६० सेकेन्डको समय निकाले । उनले सुभम श्रेष्ठले बनाएको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान तोडेका हुन् । महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् ।

Advertisement

डुवानाले २ मिनेट ४३.२३ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको २ मिनेट ४४.२८ को कीर्तिमान भंग गरेकी हुन् । पुरुष ५० मिटर ब्याक स्ट्रोकमा आर्मीका एलेक्स एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । उनले २७.४६ सेकेन्डमा पूरा गर्दै आफ्नै नामको २७.५४ को कीर्तिमान सुधार गरेका हुन् । महिला ५० मिटर ब्याक स्ट्रोकमा गौरिका सिंहले स्वर्ण पदक जितिन् । गौरिकाले ३०.८० सेकेन्डमा पूरा गरिन् ।

पुरुष ४ सय मिटरमा फ्रीस्टाइल रिलेमा आर्मीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेको छ । अनुभव, नासिर, दिलिप थापा मगर र एलेक्स रहेको आर्मीले ३ मिनेट ४५.५१ सेकेन्डमा पूरा गरे । यसअघि पुलिसको नाममा ३ मिनेट ४६.८३ सेकेन्डको कीर्तिमान थियो ।
महिला ८ सय मिटर फ्री स्टाइल रिलेमा डुवाना लामा, उपास्ति महर्जन र अनुसिया तन्डुकार सम्मलित आर्मीले २ मिनेट २७.७३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्यो ।

तपाईको प्रतिक्रिया