कास्की २ मा एमालेको चुनावी कमिटी

पोखरा ।
नेकपा (एमाले) क्षेत्र नम्बर २ कास्कीले कार्यकर्ता भेला गरी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि २ हजार २ सय २२ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
जिल्ला कमिटी कास्की कार्यवहाक अध्यक्ष तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक तेजनारायण अधिकारीको संयोजकत्वमा गठित कमिटीमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी, पोखरा महानगरपालिका कमिटी, इलाका कमिटी, पूर्व जिल्ला कमिटी, पूर्व क्षेत्रीय कमिटी, बुद्धिजीवी विशेष इलाका कमिटी, वडा कमिटी, टोल कमिटीका सदस्यलाई समेटिएको छ । कमिटीको सचिवालय शान्तिवन स्थित जिल्ला पार्टी कार्यालयमा रहनेछ ।
भेलाले पार्टीका केन्द्रीय सदस्य तथा कास्कीका सहइन्चार्ज मिनाकुमारी गुरुङको संयोजकत्वमा निर्वाचन अनुगमन तथा निर्देशन कमिटी गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश कमिटीका सचिव रश्मि आचार्य, गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य कमिटीका सदस्य छन् ।
भेलाले प्रदेश कमिटीका उपसचिव रश्मि आचार्यको नेतृत्वमा पोखरा महानगरपालिकाका ११ वडाका बुद्धिजीवीलाई समेटेर प्रतिवद्धतापत्र तयारी समितिसमेत गठन गरेको संयोजक अधिकारीले जानकारी दिए ।
भेलाले कास्की क्षेत्र नम्बर २ (क)मा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक राधिका शाही योगीको संयोजकत्वमा १ हजार १सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । प्रदेश सभा (ख)मा निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक दानबहादुर बाँनियाको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको संयोजक अधिकारीले बताए ।
कार्यक्रममा पार्टीका पूर्व स्थायी समितिका सदस्य सोमनाथ अधिकारी प्यासी, पार्टीका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापा, पार्टीका केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विद्या भट्टराई, पार्टीका केन्द्रीय सदस्य तथा कास्की २ प्रदेश सभा (क)का उम्मेद्वार भीम कार्की, पार्टीका केन्द्रीय सदस्य मिनाकुमारी गुरुङ, कास्की २ प्रदेश सभा (ख)का उम्मेद्वार मिना गुरुङ, जिल्ला कमिटी कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीका सचिव भेषराज बराल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया