सम्पादकीयः मनाङे निर्विरोध हुने देश

मनाङ प्रदेश ‘ख’का मतदाताले प्रत्यक्षतर्फ १ उम्मेदवारलाई मात्र मत हाले पुग्ने भएको छ । प्रतिनिधिसभाका लागि मतदान हुने यो क्षेत्रले प्रदेशसभा सदस्य निर्विरोध पाएको छ । पाँच दलीय गठबन्धन, एमालेको केही दलसँगको चुनावी सहकार्य र दलहरुभित्रै बागीको बिगबिगीका बेला निर्विरोध चुनिने एकमात्र सांसद बनेका छन् राजीव गुरुङ अर्थात् दीपक मनाङे ।
४ हजार १ सय ५५ मतदाता संख्या रहेको मनाङ (ख) मा सत्तारुढ गठबन्धन र एमाले दुवैले मनोनयन नै दर्ता गरेनन् । त्यो क्षेत्रमा प्रभावशाली मानिएका मनाङेको प्रतिनिधिसभामा साथ पाउन दुवै पक्षले उनलाई समर्थन गरेका हुन् । यहाँ स्वतन्त्र रुपमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले पनि उम्मेदवारी फिर्ता लिए ।
अहिले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेको विवादित शैली बेला बेलामा प्रकट हुन्छ । अदालतको आदेशले जेलसमेत परेका उनी अहिले खेलकुदका पदाधिकारी त कहिले आफ्नै मन्त्रालयका कर्मचारीलाई कुटेर विवादमा आइरहन्छन् ।
विवादास्पद पृष्ठभूमिका र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका मनाङेलाई सर्वसम्मत गराउने दलहरुको राजनीतिको पर्दा यसले उघारीदिएको छ । यसले मुलुकको राजनीति कति स्वार्थलिप्त छ भन्ने पुष्टि गर्छ । गण्डकी प्रदेशका सरकार जोगाउन र गिराउन उनले अस्वाभाविक काम गरेका छन् ।
राजनीतिक इमान्दारिता नभएका व्यक्तिलाई एमाले र कांग्रेस दुवैका गठबन्धनले अनुमोदन गर्नु संसदीय व्यवस्थाकै उपहास हो । अहिले देखिएकै छ, दलहरु चुनावी अंकगणित आफ्नो पक्षमा पार्न जुनसुकै हन्कण्डा अपनाउन पछि पर्दैनन् । भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेसका विजय गच्छदार, गोबिन्दराज जोशी चुनावी मैदानमा छन् । एमालेले पनि आलोचनात्मक चेत भएकालाई पछि पारेर नवप्रवेशी र पहुँच भएकालाई टिकट दिएको छ ।
मंसिर ४ गते प्रदेश प्रतिनिधिसभाको चुनाव देशैभर एकैचोटि हुँदै छ । आवधिक निर्वाचन लोकतन्त्रको सौन्दर्य हो । एक सिट थप जित्ने लोभका कारण अरुको पार्टीबाट मान्छे चोरेर सांसदको टिकट दिलाउने दलहरूले मनाङमा भने अनौठो सहमति कायम गरेका छन् ।
यो सहमतिले उनीहरूको चरम स्वार्थ उजागर गर्छ । सत्ता प्राप्ति र आर्थिक स्वार्थमा दलहरूबीच जस्तोसुकै विषयमा पनि सहमति हिजो पनि हुने गरेको थियो । कतिपय जिल्लामा नयाँ दलमा प्रवेश हुनेबित्तिकै टिकट दिइएको देखिन्छ । कतिपय बागीलाई अर्काे प्रमुख दलले समर्थन गरेको देखिएको छ ।
यसले राजनीति संस्कार, प्रतिश्पर्धाभन्दा पूर्वाग्रह र अराजनीतिक शैलीतर्फ दलहरु गएको प्रमाणित गर्छ । सत्ता स्वार्थका लागि जुनसुकै सम्झौता, गठबन्धन र समर्थन गर्न सक्ने दलहरु राष्ट्रिय मुद्दामा भने हम्मेसी एक ठाउँमा आउँदैनन् । चुनावी मुद्दा, सत्ता संरक्षण, स्वार्थ संरक्षणका लागि जस्तोसुकै कदम चालिदिन्छन् ।
नागरिकबाट अनुमोदन हुनै नदिई मनाङेलाई जितको पगरी पहिर्याउने दलहरु विस्तारै नदेखिने गरी मनाङेकै शैलीतर्फ लागेका त हैनन् ?
तपाईको प्रतिक्रिया