नवौं राष्ट्रिय खेलकुद

खेलाडीको खुट्टा भाँचियो, उपचार गर्न चन्दा

खेलाडीको इन्स्योरेन्स नहुँदा उपचारका लागि चन्दा उठाउनुपरेको छ

रिखिराम जिसी २०७९ कार्तिक २ गते १०:३८

रिखिराम जिसी
पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको पहिलो दिनको खेलमा गण्डकीका प्रेम कुमालको खेल्ने क्रममा खुट्टा भाँचियो । गण्डकी र बागमतीबिचको खेलको तेस्रो सेटमा कोर्टमा लड्दा उनको देब्रे खुट्टा भाँचियो । नवौं खेलकुदमा दुर्घटना बिमा नहुँदा उपचार आफै गर्नुपर्ने अवस्था आयो । उनको घरको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा आर्थिक समस्या देखियो ।

—खेलाडीहरु लगातार म्याटमा चिप्लिएर लडेका थिए । भलिबल पुरानै नेट र म्याटमा खेलाइएको छ

प्रेमको उपचारका लागि चन्दा संकलन गर्नुपरेको छ । एनआरएनए भलिबल टिमको ५५ हजार ५ सय ५५ रुपैयाँसहित १ लाख ३३ हजार ५ सय ५५ रुपैयाँ आर्थिक संकलन भयो । उपचार गरियो । अहिले उनी घाइते भएका कारण मैदान बाहिर छन् । उनी करिब २ महिना मैदान बाहिर रहनेछन् ।

Advertisement

उनीसहित नवौं राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा ६ जना घाइते भए । मंगलबार भएको सशस्त्र प्रहरी क्लब र लुम्बिनी प्रदेशबिचको क्वार्टरफाइनल खेल ३ जना खेलाडी घाइते भए । यसअघि लुम्बिनीका चिरञ्जीवी खड्का र एपिएफका हेमन्त मल्ल घाइते भएका थिए । मल्ल अहिले ठिक भइसकेका छन् । प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा परेर मृत्यु भएको छ भने अन्य खेलका अरु खेलाडी पनि घाइते भएका छन् ।

मंगलबार एपिएफ र लुम्बिनीबिच चल्दै थियो । दोस्रो सेटमा ५–३ को अग्रता लिइरहँदा एपिएफका खेलाडी रुपिन्द्र गैरे घाइते हुन पुगे । उनको खुट्टाको एंकल गएपछि उनलाई थप उपचारका लागि अस्पताल पठाइयो । त्यसलगत्तै लुम्बिनीले नम्बर ५–५ को स्थितिमा पु¥यायो । बराबरीको अवस्थामा लुम्बिनीका विजय परियार घाइते भए । उनको पनि एंकलमा नै चोट लागेको छ । त्यसलगत्तै पुनः एपिएफका टेकराज अवस्थी घाइते हुन पुगे । जसका कारण केही समय खेल रोकियो ।

Advertisement

खेलाडीहरु लगातार म्याटमा चिप्लिएर लडेका थिए । राष्ट्रिय प्रतियोगिता भएतापनि भलिबल चाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ । राखेपको लापरबाहीले खेलाडीहरु घाइते भएका लुम्बिनी प्रदेश भलिबल टिमका कप्तान लोकेन्द्र भण्डारीले बताए । ‘हामीले पहिलो दिनदेखि नै भन्दै आएका हौँ, म्याट राम्रो भएन भनेर । यसको काम नै छैन । राखेपले यस्तो लापरबाही गर्न हुँदैनथ्यो । न म्याट छ, न खेलाडीको इन्स्योरेन्स छ,’ उनले भने ।

खेलाडी घाइते भएपछि आफूहरुले नै म्याटको सट्टा खाली ग्राउण्डमा खेल्न भनेको कप्तान भण्डारीले सुनाए । ‘हामीले त बरु म्याट नै निकालेर खेलौँ भनेका छौँ, राष्ट्रिय खेलकुद भन्यो हालत यस्तो छ,’ उनले भने, ‘उपचार पनि अब आफै गर्नुपर्छ ।’

घाइते भएका खेलाडी रुपिन्द्रले राष्ट्रिय खेलकुद भनेतापनि घाइते भएपछि उपचार आफैले गर्नुपरेको उल्लेख गरे । ‘यहाँ आइसले सेकेको छ, एंकलको चोट त अर्थोपेडिकलाई नै देखाउनुपर्छ । खर्च पनि हामीले नै व्यहोर्नुपर्छ,’ उनले भने ।

म्याट पुरानो हुँदा खेलाडी लडेर घाइते हुने गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचारप्रसार उपसमितिका सदस्य केशव पाठकले बताए । ‘म्याट पुरानो भयो, फेर्नुहोस् भनेर उहिलेदेखि भनेका हौँ । तर, उहाँहरुले सुन्नुभएन,’ पाठकले भने ।

भलिबलका लागि भनेर ल्याइएको म्याट सेपाकताक्रो खेलका लागि नवलपुर लगिएको पाठकले बताए । ‘भलिबलका लागि ल्याइएको म्याट नवलपुर लगियो, नवलपुरमा म्याट गएपछि पुरानो म्याटमा भलिबल खेलाइएको छ,’ पाठकले भने ।

दर्शक र खेलाडीको विरोधपछि म्याट झिकेर खेल पुनः सुरु गरियो । म्याट फेरेर खाली ग्राउन्डमा बाँकी खेल गराइने भलिबल संघका महासचिव रोशन श्रेष्ठ बताए । ‘खाली ग्राउन्डमा गेम खेलाइने भएपछि लाइनका लागि चुना र रिबन ल्याउने र बाँकी खेल खेलाउने तयारी गरिएको छ,’ उनले भने ।

नवौं राष्ट्रिय खेलकुदमा अन्य खेलमा निशुल्क प्रवेश हुँदा दर्शक कमजोर देखिँदा भलिबल खेलमा प्रवेश सशुल्क हुँदा पनि दर्शकको उपस्थिति बाक्लो देखिन्छ । तर दैनिक जस्तो हुने खेलाडी घाइते हुँदा दर्शक दुखी भएका छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया