आर्मी र एपिएफ फाइनलमा

समाधान संवाददाता २०७९ कार्तिक २ गते ११:२२

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल प्रवेश गरेका छन् । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । एपिएफले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा एपिएफ र सुदूर पश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेले पनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा हार व्यहोरेको हो । एपिएफको जितमा प्रदीप लामाले २, नवीन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले १ गोल गरे ।

Advertisement

एपिएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सुदूरपश्चिम समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल बिहीबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ । बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदूरपश्चिमबीच पहिलो खेल हुनेछ । प्रतियोगितामा ११ टिमको सहभागिता छ ।

महिला फुटबलमा पुलिस र एपिएफ विजयी
प्रतियोगिता अन्तर्गत मंगलबार वालिङमा महिला फुटबल प्रतियोगितामा २ खेल भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।

Advertisement

खेलको १३ औं मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । लगत्तै खेलको १९ औं मिनेटमा निर्मला विकले दोस्रो गोल गरिन् भने ८० औं मिनेटमा निर्मला उपाध्यले तेस्रोे गोल गर्दै पुलिसको जित सुनिश्चित गरिन् ।

मंगलबार भएको दोस्रो खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो हाफको ५६ औं मिनेटमा एपिएफकी खेलाडी सावित्रा भण्डारीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । फाइनल खेल बिहीबार बिहान हुने आयोजकले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया