कास्की १ मा गठबन्धनको चुनावी कार्यालय

समाधान संवाददाता २०७९ कार्तिक २ गते ११:५८

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सभापति शुक्रराज शर्माले कास्कीका सबै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भइसकेको दाबी गरेका छन् । मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र समृद्ध बनाउने अभियानमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

Advertisement

प्रजातन्त्र, संविधान र समानतालाई दिगो बनाउन लागि परेको गठबन्धनका उम्मेदवारलाई मत हाल्न आग्रह गरे । नेता शर्माले आ–आफ्ना समानुपातिकका उम्मेदवारलाई भोट दिन आह्वान गरे । लेखनाथ स्थित बुढीबजारमा रहेको सम्पर्क कार्यलय उदघाटन कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापाले हिजोको दिनमा तारानाथ रानाभाटले जितेको क्षेत्र अहिले गठबन्धन बनाएर लड्दा विजय निश्चित रहेको ठोकुवा गरे ।

माओवादी केन्द्र कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)ले पार्टीको निर्देशनलाई पूर्ण कार्यान्वयन गर्दै अघि बढेर सबै उम्मेदवारलाई विजयी गराउने बताए । नेकपा एसका नेता चूडामणि जंगलीले ५ दलीय गठबन्धन एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताए ।

कांग्रेस कास्की सभापति एवं संघतर्फ कास्की १ का उम्मेदवार किशोरदत्त बरालले विकास निर्माणलाई योजनाबद्ध ढंगबाट प्राथमिकता दिँदै ठूला र साना विकासलाई दिगो स्तरमा लैजान आफूहरुको योजना रहेको उल्लेख गरे । उद्यमशलितालाई प्राथमिकता दिनुपर्ने बताएका उम्मेदवार बरालले कृषि क्षेत्रबाट निर्यातको प्याकेज ल्याउन सकिने बताए ।

नेकपा माओवादी केन्द्रका नेता एवं कास्की क्षेत्र नं १ (क) का उम्मेदवार दीपक कोइरालाले नेकपा एमालले हारको मनस्थितिमा पुगेर झुटको खेती गरिरहेको दाबी गरे । ५ दलीय गठबन्धनका संयोजक राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको सभामा समानुपातिक उम्मेदवारको तर्फबाट कांग्रेस नेतृ सरस्वती गुरुङले प्रदेश सरकारबाट भएको स्वास्थ्य क्षेत्रमा गरेको योगदान, शिक्षा क्षेत्रमा गरेको परिवर्तन, कृषि क्षेत्रमा दिएको योगदानका कारण सत्ता गठबन्धनले जित्नैपर्ने बताइन् ।

Advertisement

गठबन्धनका सदस्य सचिव सरोज कसीले सञ्चालन गरेका सभामा माओवादी केन्द्रका नेता कोमलनाथ बराल, विनय थापा, समाजवादीका नेता पूर्ण लामा र दुर्गा गुरुङ, जनमोर्चाका हरिप्रसाद बराल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया