आर्चरीमा गण्डकी टिम च्याम्पियन

समाधान संवाददाता २०७९ कार्तिक ३ गते १०:३२

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ ।१३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदक जितेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो ।

Advertisement

नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रजत जितेर पाँचौ, सुदुर पश्चिमले १ रजत र २ काँस्यसहित ३ पदक तथा वागमती प्रदेशले १ कास्य मात्र जितेर छैटौं बन्यो । लुम्बिनी र एनआरएनए पदकविहीन बने । यद्यपि सबै टिमले सबै विधामा सहभागिता भने जनाएका थिएनन् ।

विजयी टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा एपिएफका विराट थापा तेस्रो हुँदै काश्यमा सिमित भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै छन् । विराट पाँचौ वरियतामा छन् ।

रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै कास्य पदक जितिन् । वरियतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छन् । ज्ञानु तेस्रो वरियतामै छन् ।

Advertisement

कम्पाउन्ड मेन व्यक्तिगततर्फ गण्डकीकै २ खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै काश्य पदकमा सिमित भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै छन् । सुरेश चौथो वरियतामा छन् ।

कम्पाउन्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपिएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरियतामा अघि रहेकी आचार्य रजत पदकमा सीमित बनिन् । तेस्रो वरियताकी एपिएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै काश्य जितिन् ।

स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । वागमतीका फर्माचन शेरचनले तेस्रो हुँदै काश्य जिते । शेरचन पाँचौ वरियतामा थिए ।

स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा बिक तेस्रो हुँदै काश्य पदकमा सिमित् भए । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा छन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा छन् ।

१३ विधाको खेलमा मंगलबार ७ स्वर्ण र बुधबार ६ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेस र कर्णालीबाहेक ३ विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टिम र मिक्समा प्रतिष्पर्धा गराइएको थियो ।

तपाईको प्रतिक्रिया