सम्पादकीयः निर्वाचनमा नागरिकको जिम्मेवारी

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देश दोस्रो पटक आम निर्वाचनको तयारीमा छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारको मनोनयन भइसकेको छ । उमेदवारी मनोनयनमा देखिएका घटनाले राजनीतिक दलको आन्तरिक लोकतन्त्र मजबुत नभएको देखिन्छ । विगतमा जस्तै उमेदवारी छनोट पारदर्शी भएनन् ।
लामो समय राजनीति गरेका नेतालाई विस्थापित गरेर नेताका आफन्त र आगन्तुकलाई टिकट दिँदा बागी उमेदवारी पर्ने क्रम रोकिएन । त्यसैले अहिले देशैभर दलका उम्मेदवारलाई आफ्नै पार्टीबाट एकातिर डर छ भने अर्कातिर स्वतन्त्र उम्मेदवारले हराउने भए पनि छ । नेपालको संविधानले गरेको व्यवस्था र देशको राजनीतिक शक्ति–सन्तुलनका कारण चुनावमा गठबन्धन संस्कृति मौलाउँदै गएको छ ।
मंसिर ४ को चुनावमा एउटा कांग्रेस नेतृत्वको र अर्को एमाले नेतृत्वको घोषित/अघोषित गठबन्धन बनेका छन् । चुनावअघि नै गरिने गठबन्धन राजनीतिक सिद्धान्तविपरीत काम हो । यसले कुन दलको वास्तविक हैसियत कति भनेर मापन गर्ने आधार भत्किएको छ । गएको स्थानीय तह निर्वाचन होस् कि यसअघिको आम निर्वाचन, गठबन्धनको संस्कृति देखिएको छ ।
चुनावी प्रतिस्पर्धामा उत्रिएका धेरै अनुहार पुरानै छन् । तिनीहरुको चरित्र मुलुकले देखिसकेको र भोगिसकेको छ । कोही २०४८ बाटै संसद्–सत्तामा छन् भने कोही गणतन्त्रकालसँगै उदाएका पात्रहरु छन् । तिनीहरुले संविधान निर्माणदेखि कानुन निर्माणका बखत देखाएको स्वार्थी चरित्र छरपस्ट छन् ।
तिनले आफ्नो प्रभावमा कानुन नै निर्माण गरी राज्यको ढुकुटीमा दोहन गराउन चाहेको तथ्य कहीँकतै लुकेको छैन, तिनले संसदीय समितिलाई समेत आफ्नो अनुकूल चलाएका हुन् । अहिलेको व्यवस्थाले सिंहदरबारमा रहेको राज्यको अधिकारलाई गाउँ–गाउँमा पुर्याइएको भनिएको छ । तर, केन्द्रमा रहेका आधा दर्जन नेताको स्वार्थको जालमा राजनीति अडेको देखिन्छ ।
बाँचुन्जेल सत्ता र भत्ताका लागि जस्तोसुकै हतकन्डा पनि अपनाउने नेतालाई चिन्न जरुरी छ । जनताका लागि गरिने शासनको नाममा जनतालाई नै सास्ती दिन पाइँदैन । अहिले एउटा दलले अर्को दलका लागि भोट मागिरहेको छ । दलहरुको नैतिकता गुमेको छ । गणतन्त्र आइसकेपछि पनि अहिलेका नेतृत्वले जनताका लागि केही काम गर्न नसकेकाले सचेत वर्ग राजनीतिक विकल्पको खोजीमा रहेको पाइन्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।
अधिनायकतावाद यसको विकल्प हुनै सक्दैन । लोकतान्त्रिक व्यवस्थाका संवाहक दलहरु नै हुन् । तर दलहरुले लोकतन्त्रमाफिक गतिविधि र काम गर्न सकेका छैनन् । सचेत नागरिकले दलहरुलाई सचेत बनाउन, खबरदारी गर्न र अझ समुन्नत लोकतन्त्र बनाउन योगदान गर्नैपर्छ । त्यो योगदान गर्ने सबैभन्दा सुन्दर बेला निर्वाचन हो ।
तपाईको प्रतिक्रिया