नवौं राष्ट्रिय खेलकुदः आर्मी च्याम्पियन

आयोजक गण्डकी प्रदेशमध्ये उत्कृष्ट भएको छ । सबैभन्दा कमजोर प्रदर्शन गरेको कर्णाली प्रदेशले १० औं खेलकुद आयोजनाको अवसर पाएको छ

रिखिराम जिसी २०७९ कार्तिक ४ गते १६:०४

रिखिराम जिसी पोखरा ।
त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । बिहीबार सकिएको प्रतियोगितामा आर्मी ३ सय ७१ पदक जित्दै च्याम्पियन बनेको हो । आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य पदक जितेको छ । लगातार तेस्रो पटक आर्मी च्याम्पियन बनेको हो ।

अघिल्लो संस्करण जस्तै शीर्ष ३ मा विभागीय टोलीको दबदबा देखियो । दोस्रो स्थानमा सशस्त्र प्रहरी बल एपिएफ र तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहे । एपिएफले २ सय १९ र पुलिसले १ सय ९५ पदक जित्न सफल भए । एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदक जितेको छ । पुलिसले ६१ स्वर्ण, ६१ नै रजत र ७३ कास्य पदक जितेको छ ।

समग्रमा चौथोमा रहेको गण्डकी प्रदेशतिर पहिलो नम्बरमा छ । गण्डकीले १ सय २० इभेन्टमा जित निकालेको छ । ३२ इभेन्टमा स्वर्ण, ३१ इभेन्टमा रजत र ५७ इभेन्टमा कास्य पदक गण्डकीका खेलाडीले प्राप्त गरे । बागमती प्रदेश समग्रमा पाँचौ स्थानमा रह्यो । बागमतीले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदक पायो ।

Advertisement

प्रदेश १ अंक तालिकाको छैटौं स्थानमा रह्यो । प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी ८३ पदक जित्यो । सातौं स्थानमा सुदूरपश्चिम रह्यो । जसले समान १०–१० स्वर्ण र रजत र ४३ कास्य गरी ६३ पदक हात पार्‍यो ।

पहिलो पटक सहभागिता जनाएको एनआरएनए आठौं स्थानमा रह्यो । एनआरएनले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी २६ पदक जित्यो । लुम्बिनी प्रदेश अंक तालिकाको नवौं स्थानमा र मधेस प्रदेश १० औं स्थानमा रहे । लुम्बिनीले ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक र मधेसले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी ३९ पदक पाए ।

Advertisement

अंकतालिकाको पुछारमा कर्णाली प्रदेश रह्यो । कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी १८ पदक पाएको छ । नवौं राष्ट्रिय खेलकुदको आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पहिलो पटक च्याम्पियनसिप ट्रफी प्रदान गरेको हो ।

पहिलोपटक राष्ट्रिय खेलकुदका लागि चाँदीको ट्रफी बनाइएको हो । १० लाख लागतमा तयार भएको ट्रफी च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तान्तरण गरे ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको १० औं संस्करण ०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । नवौै राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा नवौं राष्ट्रिय खेलकुदको झण्डा कर्णाली प्रदेशलाई हस्तान्तरण गरिएको हो । जसको लोगो र मस्कट सार्वजनिक गर्न आगामी मंसिर ७ देखि ९ गतेसम्म रारामा राखेपको बैठक बस्नेछ ।

बैठकमा ११ औं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग गरेका थिए । मधेस प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ ।सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि ११ औं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी गरेका छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया