पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न

पोखरा ।
पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय खेलकुद प्रतियोगिता भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत असोज ३० गते बाट सुरु प्रतियोगितामा विभिन्न खेलको शुक्रबार फाइनल तथा पुरस्कार वितरण भएको छ ।
पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउँदै , खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राखे ।
भेट्रान्स समूह र विद्यालय समूह गरि दुई छुट्टाछुट्टै समूहमा खेलाइएको फुटबल खेलमा भेट्रान्स समूहमा व्याज–६९ समूह प्रथम हुन् सफल भएको छ । भेट्रान्स समूहले पूर्व प्याव्लो युनाईटेड समूहलाई २–१ गोल अन्तरले जित हात पार्न सफल भएको छ ।
१४ ओटा समूहको सहभागिता रहेको विद्यालय फुटबल प्रतियोगितामा व्यवस्थापन तथा होटल मेनेजमेन्ट ए समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा १० ए ले चित्त बुझाएको छ । व्यवस्थापन तथा होटल मेनेजमेन्ट ए समूहले कक्षा १० ए समूहलाई २—१ गोलले पराजित गर्दै पाँचौ डायमण्ड रनिङ सिल्डको उपाधि जितन सफल भएको हो ।
छात्रा भलिबलको उपाधि कक्षा १२ समूहले जित्यो भने छात्र तर्फ पूर्व व्यवस्थापन समूह विजेता भएको छ । यो सँगै पूर्व व्यवस्थापन समूह लगातार तिन पटक विजेता बन्दै डायमण्ड रनिङ सिल्ड हात पार्न सफल भएको छ ।
यसैगरि क्रिकेट तर्फ पूर्व विज्ञान समूहले जित हात पार्न सफल हुदाँ कक्षा १२ व्यवस्थापन समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ अनुप गुरुङ प्रथम भएका छन् भने विपिन कुइँकेल दोस्रो हुन् सफल भएका छन् त्यसैगरि छात्रा तर्फ अनुषा गौतम प्रथम र अंकिता गुरुङ दोस्रो हुन् सफल भएका छन् ।
प्रतियोगितामा फुटबल तर्फ ३ गोल गर्दै पूर्व प्याव्लो युनाईटेड समूहका सुलभ खनालले सर्वाधिक गोल कर्ताको उपाधि हात पारे भने , व्याज ६९ समूहका संजिव गुरुङ उत्कृष्ट खेलाडी बनेका छन् । विद्यालय समूह फुटबल तर्फ ५ गोल गर्दै व्यवस्थापन तथा होटल मेनेजमेन्ट ए समूहका किसन पुन सर्वाधिक गोल कर्ताको उपाधि हात पारे भने , कक्षा १० एका एरिक पुन उत्कृष्ट खेलाडी बनेका छन् ।
छात्र भलिबल तर्फ टोनिज गुरुङ उत्कृष्ट खेलाडी र माक्र्स गुरुङ उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ अंकिता गुरुङ उत्कृष्ट खेलाडी र अनुशा गौतम उत्कृष्ट स्पाईकरको उपाधि हात पारेकी छन् । क्रिकेट तर्फ सर्वाधिक विकेट लिने खेलाडी र उच्चतम रन लिने खेलाडीको उपाधी पूर्व विज्ञान समूहका सञ्चन श्रेष्ठले हात पार्न सफल भएका छन् ।
प्रतियोगिताका रेफ्रि मनिष क्षेत्री र सुमन गुरुङलाई सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा गण्डकी विश्व विद्यालयका खेलकुद संयोजक डा.मधुसुधन सुबेदी, डाईरेक्टर अफ रिर्सच सेन्टरका डा. राजकुमार थापा, वडा नं. २७ की वडा सदस्य बुद्घिमाया गुरुङ प्लस टु संयोजक शिव प्रसाद लामिछाने लगाएतले विजयी विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
विद्यालयका संस्थापक निर्देहक माधवशरण उपाध्यायको सभापत्तित्वमा संचालन भएको समापन कार्यक्रमका कार्यक्रम माथि प्रकाश तथा स्वागत विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोकाले गरेका थिए । धन्यवाद ज्ञापन विद्यालयका संस्थापक व्यवस्थापक हरि प्रसाद लामिछानेले गरेका थिए । कार्यक्रमको संचालन शिक्षक नारायणप्रसाद वाग्लेले गरेका थिए ।
तपाईको प्रतिक्रिया