संसदमा प्रभावशाली: उम्मेदवारीमा हात खाली
नयाँलाई अवसर दिन प्रदेश छाडें

सञ्जय रानाभाट पोखरा ।
गण्डकी प्रदेश सभाले ५ वर्ष पूरा गरेपछि प्रदेश सभा सदस्यहरु बिदा भइसके । अब मंसिर ४ को निर्वाचनपछि नयाँ सदस्य आउने छन् । २०७२ मा ‘नेपालको संविधान’ बनेपछि ०७४ मा भएको निर्वाचनबाट गण्डकी प्रदेश सभामा ६० सदस्य निर्वाचित भएका थिए । कार्यकालको अन्त्यसम्म प्रदेश सभामा ५८ सदस्य कायम रहे ।
संघीयता कार्यान्वयनपछि स्थापित प्रदेश सभाको पहिलो कार्यकाल अनुभव र अभ्यासका हिसाबले नयाँ थियो । तर कतिपय प्रदेश सभा सदस्यले सांसदमा प्रभावशाली भूमिका निर्वाह गरे ।
संसदीय अभ्यास कानुन र विधिका आधारमा चल्छ । कतिपय अवस्थामा परम्परालाई पछ्याइन्छ । प्रदेश सभा मूलतः कानुन निर्माणको थलो हो । जनताको आवाज उठाउने ठाउँ हो । मुख्य काम कानुन निर्माण हुँदाहुँदै यसमा पटक्कै ध्यान नदिने रोग गण्डकीमा पनि देखा पर्यो ।
कानुन बनाउँदा के कस्ता प्रावधान राख्ने, के कस्ता कानुन बनाउने र त्यसमा के कस्ता प्रबन्ध गर्न सकिन्छ भन्नेतिर कमै प्रदेश सभा सदस्यले ध्यान दिएका थिए । तर केही प्रदेशसभा सदस्य थिए, जसले विधि र कानुनमा पनि ध्यान पुर्याए, जनताको आवाज पनि उठाए र प्रदेश स्तरमा संसदीय अभ्यास गरे ।
तर तीमध्ये कतिपयले दोहोरिएर प्रदेश सभा सदस्य बन्न आआफ्ना पार्टीबाट टिकट पाएनन् । प्रदेश सभामा प्रभावशाली उपस्थिति जनाएकामध्य एक प्रतिनिधि प्रदेश सभा सदस्य आशा कोइरालाबारे समाधनकर्मी सञ्जय रानाभाटले यहाँ समेट्ने जमर्काे गरेका छन् ।
आशा कोइराला
संसद बैठकको शून्य समयमा जनताका सवाललाई खरो रुपमा प्रस्तुत गर्ने सांसद हुन्, माओवादी केन्द्रकी आशा कोइराला । उनले पनि आसन्न निर्वाचनमा टिकट पाइनन् । तनहुँ क्षेत्र नम्बर २ बाट आकांक्षा देखाए पनि टिकट मिलेन ।
उनी भन्छिन्, ‘मेरो इच्छा प्रदेश सभाभन्दा पनि प्रतिनिधि सभा सदस्य बन्ने थियो । मैले तनहुँ २ बाट प्रतिनिधि सभा सदस्यका लागि इच्छा देखाएकी थिएँ । तर, गठबन्धनबाट नेपाली कांग्रेसले पाएपछि मेरो उम्मेदवारीको अर्थ भएन ।’
०६४ को संविधान सभाको पहिलो निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेकी कोइराला २०७० को दोस्रो संविधान सभाको निर्वाचमा समानुपातिकबाट सांसद थिइन् । त्यति बेला संघीय महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी उनले सम्हालिन् । ‘०७४ मा गण्डकी प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित भएँ । यो अवधिमा विशेष जिम्मेवारी त पाइनँ ।
एउटा प्रदेश सभा सदस्य भएर जति गर्नुपर्ने थियो, गरेँ जस्तो लाग्छ,’ उनले भनिन्, ‘संसदमा माओवादी तेस्रो शक्ति थियो । माओवादी ५ वर्ष नै सरकारमा सहभागी भयो । यो अवधिमा ठूलो जिम्मेवारी नपाए पनि विधेयकहरु ब्नाउन मेरो महत्वपूर्ण जिम्मेवारी रह्यो ।’
संसदको कार्यव्यवस्था परामर्श समितिमा रहेर काम गरेकी कोइरालाले विधायन समितिको सदस्यसमेत रहेर काम गरिन् । कानुन बनाउने कुरामा सधैं गम्भीर भएर लागेको उनी बताउँछिन् । ‘हामीले प्रदेशलाई अति आवश्यक कानुनहरु बनाएका छौं । यसको कार्यान्वयन सरकारले गर्नुपर्छ । जे जति भूमिका पाएँ । पूरा गरेँ जस्तो लाग्छ,’ उनी भन्छिन् ।
टिकट नपाए पनि आफू खुसी रहेको कोइराला बताउँछिन् । ‘प्रदेश सभामा दाबी गरेको भए फेरि पनि पाउन सक्थेँ । प्रदेश सभामा नयाँले अवसर पाउनुपर्छ भनेर छोेडेकी हुँ,’ उनी भन्छिन् ।
वाम गठबन्धनको सरकारलाई रचनात्मक सहयोग गरेको उनको भनाइ छ । प्रदेश सरकारले प्रदेश गौरवका आयोजना निर्माण गरेर ती आयोजना निर्माण गरेर नमुना प्रदेश बनाउने कुराको आफूले सधै स्वागत उनले सुनाइन् । भन्छिन्, ‘प्रदेशभर खानेपानी समस्या थियो । यसमा २ वर्षभित्र आधारभूत खालको जुन लक्ष्य थियो । त्यो सुरु भएको छ । गौरवका आयोजना राख्न सुझाव दिने कुरा आफूले सधैं गरेँ ।’
माओवादी केन्द्रीय सदस्यसमेत रहेकी कोइराला अब पार्टी राजनीतिमा केन्द्रित हुने बताउँछिन् । ‘पार्टीले मलाई धेरैपटक अवसर दिएको छ । नयाँ साथीले पनि अवसर पाउनुपर्छ भन्ने लागेको छ । अब पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न निर्देशन दिने कामहरु गर्छु,’ उनी भन्छिन् ।
पृथ्वीसुब्बा नेतृत्वको सरकारले विकास निर्माणका राम्रा राम्रा काम गर्न सकेको कोइराला बताउँछिन् । भन्छिन्, ‘एक निर्वाचन क्षेत्र १ कृषि गाउँ, हरेक पालिकाको केन्द्र जोड्ने सडक यो नीति सबैभन्दा राम्रो हो । कसैले प्रश्न उठाउने ठाउँ नै थिएन । यो सम्झनलायक ५ वर्षका विकासका काम हुन् ।’

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।








सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
र्यान्डममा ‘नीलो प्रेम’ माथि परिचर्चा
शिभाली गुरुङले रचिन् इतिहास, आइटिएफ जे–३० वर्ल्ड टेनिस टुरमा दोहोरो उपाधि
एमालेले देशलाई गलत बाटोमा जान दिँदैन : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया