
प्रमिला कुँवर, पोखरा ।
नेपालीहरुको दोस्रो महान चाड तिहारका लागि यस वर्ष गण्डकी प्रदेशमा ८० देखि ९० प्रतिशत स्थानीय फूलले माग पूरा गर्ने दाबी पुष्प व्यवसायीले गरेका छन् । पहिलापहिला तिहारका बेला भारतबाट फूल आयात हुँदै आएको थियो । केही वर्षदेखि स्थानीय उत्पादन प्रयोगमा आउन थालेको फूल व्यवसायी बताउँछन् ।
फ्लोरिकल्चर एसोसियसन कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले यो वर्ष गण्डकीमा लगभग ३ करोड रुपैयाँ बराबरको फूल उत्पादन भएको जानकारी दिए । ‘स्थानीय उत्पादनै प्रयोगमा ल्याउने छौं, अझै पनि कतिपय व्यवसायीले भारतबाट ल्याइएको फूल बिक्री गरिरहेका छन्, आयातलाई पूर्ण विस्थापित गर्ने लक्ष्य छ,’ उनले भने ‘सरकारले पुष्प व्यवसायीका लागि कुनै कार्यक्रम ल्याएको छैन ।
सरकाले खाली रहेको जग्गा सहुलियत भाडामा पुष्प व्यवसायीका लागि उपलब्ध गराइदिए देश नै फूलमा आत्मनिर्भर हुने थियो ।’ कास्कीभित्र लगभग थुप्रै ठाउँमा फूल उत्पादन गरिएको उनले जानकारी दिए ।
पोखरामा तिहारमा लगभग साढे १ करोडको फूल बिक्री हुने अनुमान गरिएको उनले सुनाए । तिहारका बेला मात्र सयपत्री, मखमली फूल उत्पादन गर्ने व्यवसायी पनि छन् ।
सरकारले पुष्प व्यवसायका लागि कुनै पनि प्रकारको सहयोग नगरेको फ्लोरिकल्चर एसोसियसन कास्कीका सल्लाहकार दयाकुमार द्वाको गुनासो छ ।
‘पुष्प पनि कृषि क्षेत्रभित्रकै हो तर कृषिमा अनुदान, सहयोग हुँदा सरकारले पुष्प व्यवसायलाई पुरै बेवास्ता गरेको छ,’ उनले भने । सम्बन्धित निकायमा पटकपटक कुरा राख्दा पनि सुनुवाइ नभएको द्वाले बताए । सरकारले पुष्प व्यवसायीलाई साथ दिने हो भने देश फूलमा पूर्ण रुपमा निर्भर रहने उनले उल्लेख गरे ।
तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलले यतिबेला पोखराका फूल व्यवसायीलाई व्यस्त बनाएको छ । तिहारमा फूलको व्यापार बढी हुने हुँदा व्यवसायीलाई फूल टिप्ने, माला गाँस्ने, बजारसम्म लैजाने कामको चटारो छ ।
पोखरा ३१ बेगनासतालमा मौरी पालन व्यवसाय गर्दै आएका सूर्यप्रसाद लामिछाने पछिल्लो समय फूल खेतीसमेत गर्न थालेका छन् । तीन रोपनी क्षेत्रमा ४ हजार सयपत्री फूलका बेर्ना लगाएको उनले बताए । फूल राम्रो फूलेकाले आम्दानी राम्रो हुने आशामा लामिछाने उत्साहित देखिन्छन् ।
‘गत वर्ष समय अगावै फूल फूल्यो, सोचे जस्तो आम्दानी भएन,’ उनले भने, अहिले भने उपयुक्त समय अनुमान गरेर फूल रोपेको थिए राम्रो भएको छ ।’ फूल टिप्न सुरु गरिएको उनले बताए । व्यपारीसँग सहकार्य गरेर फूल बेच्ने तयारी छ कतिपय ग्राहक बारीमै आउने गरेको उनको भनाई छ ।
स्थानीय तथा महानगर कतैबाट पनि अनुदान सहयोग नपाएको उनको गुनासो छ । कुरा राख्दा पनि पुष्प क्षेत्रलाई सरकारले बजेट नै दिएको छैन भन्दै तर्किएको उनले बताए । ‘अनुदान पाए लगानीमा सहज तथा प्रोत्साहन मिल्ने थियो,’ लामिछानेले भने ।
पोखरा १३ बाँझापाटनमा रहेको सिर्जना पुष्प नर्सरीमा सयपत्री ढकमक्क फूलेका छन् । लगभग ७÷८ वर्षदेखि फूल व्यवसाय सुरु गरिएको नर्सरीमा तीन रोपनीमा तिहारे फूल लगाइएको छ । साढे एक रोपनीमा अन्य जातका फूल छन् । नर्सरीको रेखदेख सम्झना कटुवालका दम्पतीले गरिरहेका छन् ।
उनका श्रीमान्ले पहिले काठमाडौंमा नर्सरीमा काम गरेका थिए । उता सिकेको सिप यहाँ प्रयोग गरिरहेका छन् । व्यवसायबाट राम्रो आम्दानी हुने गरेको सम्झनाले बताइन् । गत साल तिहारमा ४/५ लाखको फूल बिक्री भएको थियो । यो वर्ष भने मुस्किलले दुई लाखको फूल बिक्री हुने उनको अनुमान छ ।
‘ताजा फूल खोज्ने हुँदा ग्राहक बारीमै आउँछन्, बजारसम्म लैजाने झन्झटै छैन,’ उनले भनिन्, ‘फूल फूल्ने बेलामा पानि पर्नाले फूल राम्रोसँग फक्रिन पाएन, फूल लगाउन पनि ढिलो भएको थियो ।’
एउटा थुंगा फूलको मूल्य ६ रुपैयाँदेखि १० रुपैयाँसम्म पर्छ । एउटा मालाको मूल्य ३०० देखि ५०० रुपैयाँसम्म पर्छ ।
सूर्य कोइरालाले पोखरा १२ चाउथेमा १० वर्षदेखि व्यावसायिक तरकारी गर्दै आएका छन् । उनले एक रोपनी क्षेत्रमा तिहारलाई लक्षित गर्दै फूल खेती गरिरहेका छन् ।
‘बजारको समस्या नहुने, आम्दानी पनि राम्रै हुन्छ त्यसैले फूल खेती गरेको हुँ,’ उनले भने, गत वर्षकोभन्दा कम फूलेका छन्, फूल फूल्ने समयमा पानी पर्नाले घाटा लाग्यो ।’
गत वर्ष उनले फूलबाट २ लाख आम्दानी गरेका थिए अहिले १ लाख पनि नहुने उनले बताए । पोहोरको तुलनामा कम फूल लगाएको र फूल पनि कम फूलेको उनले सुनाए । पोखरा १२ शीतलदेवीमा सागर नर्सरी सञ्चालन गर्दै आएका कोइरालाले नर्सरीबाटै फूल बिक्री गर्ने बताए ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया