सम्पादकीयः आयोग सशक्त बन्न पर्छ

निर्वाचन आचारसंहिता (२०७९) ले निर्वाचन हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र रजनीतिक दलले प्रचार प्रसार गर्न पाउँछन् । त्यसका आधारमा दलहरूले कात्तिक १८ गतेदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउने ऐनमा व्यवस्था छ । दलहरुले छठ पर्व अगाडी घरदैलो गर्न पाउँदैनन ।
यद्यपि आचारसंहिताले तत्कालका लागि रोक लगाएका र निश्चित मितिपछि मात्र गर्न पाइने भनेका गतिविधिहरू अहिले पनि भइरहेको पाइएको छ । त्यस्ता गतिविधि जारी राखिए उम्मेदवारको मनोनयनपत्र खारेजी सम्मको कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ ।
आयोगको चेतावनीबीच दलहरूले आचारसंहिताले रोक लगाएका गतिविधि रोकेका छैनन । आचारसंहिता विपरीतका गतिविधि नगरिएको तर दल वा गठबन्धनले आन्तरिक हिसाबले कार्यक्रम मात्र गरेको दाबी गर्दै आएका छन् ।
निर्वाचन आयोगका अनुसार विभिन्नखाले आचारसंहिता उल्लंघनका उजुरीहरू परेका छन् । त्यस्ता उजुरीमा आचारसंहिताले हाललाई बन्देज लगाएको कोणसभा गरिएको, घरदैलो कार्यक्रमलाई तोकिएको भन्दा फरक किसिमले गरिएको र विभिन्न चिह्न एवं झन्डा प्रयोग गरेर प्रचारप्रसार गरेको जस्ता प्रश्नहरू उठाइएका छन् ।
अहिलेको बेलामा कोणसभा, आमसभा, गोष्ठी, सेमिनारलगायतका कुनै पनि विषय निर्वाचन प्रचारप्रसारको प्रयोजनका लागि गर्न पाइदैन । त्यो कुरा दलका प्रतिनिधिहरूको सहमतिमै बनेको आचारसंहिताले भनेको छ । आचारसंहितामा उल्लेख भएअनुसार चुनावको १७ दिन अघिदेखि मात्र दलहरूले जुलुस, आमसभा, कोणसभा गर्न पाउने छन् ।
अब नाचगान वा बाजागाजा केही नगरी बढीमा २५ जनासम्म गएर घरदैलो गर्नसक्ने व्यवस्था छ । यद्यपि जुलुस र नाचगानसहित त्यस्तो गरिएको भन्दै कैयौँ उजुरीहरू आयोगमा परेको छ । चुनाव लक्षित प्रचारप्रसार हुनेगरी कोणसभा वा आमसभा गर्न नपाइने भनिए पनि दलहरूले त्यस्ता कार्यक्रम गरिरहेका छन् ।
यदाकदा आचारसंहिताले उल्लेख गरेका बाहेकका गतिविधि पनि हुन थालेको छ । त्यसैले आचारसंहिता विपरीतका गतिविधि भएमा सम्बन्धित दल र उम्मेदवारले अनभिज्ञता प्रकट गर्न मिल्दैन । गम्भीर आचारसंहिता उल्लङ्घन गरेको पाइए मनोनयनपत्र खारेज समेत हुनसक्छ । निर्वाचन आयोग ऐन २०७३ ले आचारसंहिताको गम्भीर उल्लंन गर्ने उम्मेदवारको उम्मेदवारी समेत रद्द हुनसक्ने व्यवस्था गरेको छ ।
आयोगले दिएको आदेश अटेर गर्ने दल, संस्था वा उम्मेदवारलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छ । दलहरूको समेत सहमतिमा बनेको निर्वाचन आचारसंहिताको देशैभरि र लगातार उल्लंघन भइरहेको भन्दै निर्वाचन आयोगले कडा कारबाही को चेतावनी दिएको छ ।
त्यतिमात्र नभएर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका केही दिनमा आयोगले गर्ने निर्णयले ५–७ दिनमा ठूलै भूकम्प आउने संकेत गरेर ठुलो कारवाहीको संकेत गरेका छन् । कुनै उम्मेद्वारले आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा विश्वस्त भएमा उम्मेद्वारको उम्मेद्वारी रद्द गर्न सक्ने आयोगले सशक्त कदम चाल्न पर्छ ।
तपाईको प्रतिक्रिया