क्यान–११ ले एमसीसीलाई हरायो

समाधान संवाददाता २०७९ कार्तिक १२ गते १७:२६

पोखरा ।
क्यान–११ महिला टोलीले ४० ओभरको खेलमा एमसीसी वुमन्सलाई हराएको छ । पोखरा क्रिकेट रंगशालामा शनिबार क्यान–११ ले २ विकेटले पराजित गरेको हो । एमसीसीले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको क्यान–११ ले ३४ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।


क्यान–११ का लागि सर्वाधिक नेरी थापाले अविजित ३३ रन बनाइन् । अश्मिना कर्माचार्य अविजित १८ रन रहिन् । कविता कुँवरले १६ रन र रुबिना क्षेत्रीले १३ रन जोडिन् । एमसीसीका रिया राभेल र रचेल पोटरले २–२ विकेट लिए ।


यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले ४० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । एमसीसीका जेनीले सर्वाधिक २१ रन र क्लेरी टेलरले २० रन बनाइन् । अमन्डाले १६ र एलिसाले १३ रन बनाइन् । क्यान–११ का सीता राना मगर र रुबिना क्षेत्रीले ३–३ विकेट लिईन् । खेलमा नेरी थापा प्लेयर अफ द म्याच घोषित भईन् ।

Advertisement

तपाईको प्रतिक्रिया