६५ वर्षबाटै वृद्धभत्ता दिने कांग्रेसको संकल्प

समाधान संवाददाता २०७९ कार्तिक १३ गते १०:२०

पोखरा ।
नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमशः ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ ।

Advertisement

कांग्रेसले आगामी पाँच वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । योजना अनुसार काम भएको खण्डमा आर्थिक वर्ष २०८४/८५ सम्ममा देशभित्र १५ हजार मेगावाट बिजुली उत्पादन हुनेछ तर, कोरोना कहर तथा अन्य अनेकन कारणले सरकारको सो महत्वाकांक्षी लक्ष्य पूरा हुने अवस्था भने छैन ।

हाल निर्माणको चरणमा झण्डै ३ हजार पाँच सय मेगावाट क्षमताका आयोजना छन् । ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणमा जाने तयारीमा छन् । प्रणालीमा हाल दुई हजार तीन सय मेगावाट बिजुली जोडिसकेको छ । यस आधारमा हेर्दा आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन हुने वस्तुगत आधार छ। त्यसका लागि थप लगानीको विस्तार गर्नुपर्ने आवश्यकता छ ।

कांग्रेसको संकल्पपत्रमा विपन्न परिवारले प्रयोग गर्ने विद्युतको हकमा मासिक ५० किलोवाट आवरसम्म निःशुल्क दिइने प्रतिबद्धता छ । हाल सरकारले २० किलोवाट आवरसम्म निःशुल्क विद्युत उपलब्ध गराउँदै आएको छ ।

कांग्रेसले ‘स्वच्छ ऊर्जा उत्पादन दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आगामी पाँच वर्षमा विद्युतीय ऊर्जाको उत्पादनमा उल्लेख्य प्रगति गर्ने लक्ष्य राखेको छ । नेपालीको घरायसी, कृषि र उद्योग व्यापारको आवश्यकता परिपूर्ति गरी प्रतिव्यक्ति विद्युतीय ऊर्जा खपत १ हजार २ सय युनिट पुर्‍याइने लक्ष्य राखिएको छ ।

Advertisement

कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘नेपालको ऊर्जा उत्पादनमा पूर्वाधार र प्रसारण लाइन निर्माणमा सुस्तता रहेकाले उपलब्ध जलस्रोतको अधिकतम सदुपयोग गर्न सकिएको छैन । हिउँदमा अझै विद्युत् र ठूलो रकममा खनिज तेलको आयात गर्नुपरेको छ । आन्तरिक ऊर्जा प्रणाली भरपर्दो नहुनाले विद्युतीय ऊर्जाको बहुप्रयोग बढाउन सकिएको छैन ।’

जलस्रोतको बहुआयामिक उपयोग गर्दै ग्रीन हाइड्रोजन तथा ग्रीन अमोनियाको उत्पादन तथा बिक्री गरी आर्थिक उपार्जन गर्ने संकल्पपत्रमा उल्लेख छ । ऊर्जा सुरक्षाका लागि सन्तुलित ऊर्जा सम्मिश्रण र जलाशययुक्त आयोजना निर्माण गर्न विशेष प्राथमिकता दिइने नेपालको कूल ऊर्जाको १० प्रतिशतभन्दा बढी वैकल्पिक ऊर्जा स्रोतबाट प्राप्त गर्न ग्रीड जडित सौर्य ऊर्जा, सौर्य फार्म, जैविक तथा वायु ऊर्जाजस्ता प्रविधि परिचालन गर्ने योजनालाई कांग्रेसले समेटेको छ ।

आगामी पाँच वर्षमा ४ सय केभी क्षमताको पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न गर्ने, बुटवल–गोरखपुर अन्तर्राष्ट्रिय विद्युतीय प्रसारण लाइन निर्माण सम्पन्न गरी लम्की–बरेली लगायत भारतसँग थप तीनवटा र चीनसँग एउटा अन्तर्राष्ट्रिय प्रसारण लाइनको अध्ययन पश्चात लाभदायक देखिएमा पिपिपी मोडलमा आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी निर्माण कार्य सुरू गर्ने विषयलाई कांग्रेसले महत्वका साथ संकल्प पत्रमा समावेश गरेको छ ।

त्यसमध्ये पूर्व पश्चिम चार सय केभी क्षमताको प्रसारण लाइनको पूर्वी खण्ड निर्माणको क्रममा छ। बुटवल गोरखपुर अन्तरतरदेशीय प्रसारण लाइनको निर्माण सुरु भइसकेको छ ।

राष्ट्रिय विद्युत प्रसारण प्रणाली विकास योजनाअन्तर्गत रहेका नदी बेसिनलगायत अन्य प्रसारण लाइनको निर्माण कार्यमा देखिएका मुख्य अवरोधको सम्बोधन गर्ने, विद्यत् प्रसारण लाइन निर्माण तथा सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिइने उल्लेख छ ।

आयातित ग्यास र अन्य परम्परागत इन्धनलाई विस्थापन गर्न विद्युतीय चुलोको वितरण र प्रयोगलाई व्यापक वित्तीय प्रोत्साहन दिने, राष्ट्रिय ऊर्जा सुरक्षा नीति तर्जुमा गरी स्थानीय तथा प्रादेशिक सरकारमार्फत कार्यान्वयन गर्ने कांग्रेसको योजना छ ।

संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी करिब ५० प्रतिशत खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने र भूमिगत सिँचाइ, विद्युतीय तथा सौर्य लिफ्ट सिँचाइ, साना सिँचाइ, स्थानीय प्रविधि, थोपा सिँचाइ प्रविधि एवम् आकाशे पानी सङ्कलनद्वारा सिँचाइ प्रणाली विस्तार गर्ने कांग्रेसको संकल्पपत्रमा उल्लेख छ ।

निर्माणाधीन सुनकोसी–कमला तथा भेरी–बबई डाइभर्सनलगायत अन्य बहुउद्देश्यीय आयोजना सम्पन्न गर्ने, रानी–जमरा–कुलेरिया तथा महाकाली सिँचाइ आयोजनालगायतका निर्माणाधीन सिँचाइ आयोजनालाई पनि तोकिएको समयमा पूरा गर्ने योजना संकल्पपत्रमा समावेश छ ।

आगामी पाँच वर्षमा ९५ प्रतिशतभन्दा बढी जनसंख्यालाई आधुनिक सरसफाइ प्रणालीमा आबद्ध गरिनुका साथै सबै सहरमा फोहरपानी ट्रिटमेन्ट परियोजनासहित दिगो ढल प्रणाली बनाइने योजना सङ्कल्पपत्रमा समावेश छ । कांग्रेसले समावेश गरेको अधिकांश कार्यक्रम हाल सञ्चालनमा रहेका कार्यक्रम नै हुन् ।

यस आधारमा नीतिगत स्थिरता र दिगोपनलाई सो पार्टीले जोड दिएको छ । पूरा गर्न सकिने ऊर्जा तथा जलस्रोतका योजना मात्रै कांग्रेसले आफ्नो सङ्कल्पपत्रमा समावेश गरेको महामन्त्री विश्वप्रकाश शर्माको भनाइ छ ।

सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा ५ वर्ष (संसदको कार्यकाल)मा पूरा गर्न सकिने मुद्दामात्र समावेश गरिएको बताएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्र निर्माण समितिमा रहेका कांग्रेस नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्लेले धरातलीय यथार्थमा टेकेर घोषणापत्र ल्याइएको बताएका छन् । कांग्रेसले घोषणापत्रलाई ‘निरन्तरतामा नवीनता’को रुपमा अथ्र्याउँदै भनेको छ, ‘गगनचुम्बी भवन होइन, मान्छेका भावना समेट्न चाहान्छौं,’ कांग्रेसले घोषणापत्रलाई संकल्पपत्र भनेको छ ।

घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले समुन्नतिका सन्दर्भमा मानिसका केन्द्रमा राखेर संकल्पपत्र ल्याएको बताएका छन् । उनले भनेका छन्, ‘समुन्नतिको सन्दर्भमा मानिसलाई केन्द्रमा राखेका छौं। घोषणापत्र गर्दै गर्दा सस्तो कुरामा केन्द्रित हुने र निर्वाचनलाई प्रभावित गर्ने मात्र कुराबाट हामी मुक्त छौं ।’

कांग्रेसको घोषणापत्र सपनाको उडानबाट अवतरण गरेर धरातलीय यथार्थमा केन्द्रित भएको शर्माको भनाइ छ । बाँडिएका सपना पूरा नहुँदा जनतामा बढ्ने निराशाबाट सचेत भएको कांग्रेसको भनाइ छ। शर्माले समावेशितालाई आधार बनाएर घोषणापत्र ल्याइएको उल्लेख गरे ।

कांग्रेसले स्वास्थ्य सेवामा आम नगरिककको पहुँच स्थापित एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली स्थापित गर्ने संकल्प गरेको छ । ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकको निःशुल्क उपचार गर्ने प्रतिबद्धता कांग्रेस संकल्पपत्रमा समावेश छ ।

६५ वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने प्रतिवद्धता कांग्रेसले जाहेर गरेको छ ।

हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विशिष्टीकृत अस्पताल स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालन गर्ने घोषणा कांग्रेसको छ । सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने, हेरक स्थानीय तहमा सुविधासम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्स सञ्जाल बनाउने लक्ष्य कांग्रेसको छ ।

नेपालमा ७० लाखभन्दा बढी जनसंख्या विभिन्न प्रकारको रोजगारी र स्वरोजगारमा आवद्ध छन् । सबैभन्दा बढी कृषिमा १५ लाख, थोक तथा खुद्रा बिक्रीमा १२ लाख, उत्पादनमूलक उद्योगमा ११ लाख, निर्माणमा १० लाख र शिक्षा क्षेत्रमा ५ लाख रोजगारी भएको देखिएको कांग्रेसले जनाएको छ ।

नेपालमा वार्षिक ५ लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने गरेको र आर्थिक वर्ष ०७७/०७८ मा उद्योगले ११ हजार ८३३ रोजगारी प्रस्तावित गर्दा लोकसेवा आयोगले ३ हजार ७५४ विज्ञापन गरेको कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया