प्लेटोको आदर्श राज्य र अहिलेको अवस्था

डा सञ्जय कोइराला २०७९ कार्तिक १३ गते १२:२९

इसा पूर्व ४२७ सालमा जन्मेका अरिस्तोकेलेस, जसलाई हामी प्लेटो भनेर चिन्दछौँ, राजनीति दर्शनका एक महान् दार्शनिक थिए । उनका गुरु सुकरातको मृत्युले राजनीतिमा आफ्नो भविष्य खोजेका प्लेटो राजनीति छोडेर दर्शनको बाटोमा लागेका थिए भनेर भनिन्छ । लोकतन्त्रवादी (एथेनियन) र सैन्यवादी (स्पार्टा) बीचको निरन्तर द्वन्द्वमा समय गुजारेका प्लेटोको जीवन सधैं आदर्श राज्यको स्थापनाको सपना बुन्दै बित्यो ।

Advertisement

तत्कालीन शासकबाट बारम्बार धोका पाइरहे पनि आदर्श राज्यको सपना देख्न र देखाउन प्लेटो कहिल्यै पछि हटेनन् ।

प्लेटोका आदर्श राज्यका चार वटा खम्बा छन्
१. शिक्षा
२. न्याय
३. साम्यवाद
४. दार्शनिक राजा
प्लेटोले शिक्षालाई तार्किक रुपमा हेरेको पाइन्छ । हरेक गतिविधि कुनै न कुनै कारणले हुन्छ भन्ने मान्यता राख्ने प्लेटोले ज्ञानले मानिसलाई कुनै बिशेष कार्यको लागि तयार गर्दछ भनेर भनेका छन् ।

शिक्षालाई राज्यको दायित्व मान्ने उनले शिक्षालाई विभिन्न चरणमा वर्गीकरण पनि गरेका थिए । शिक्षाको उद्देश्य आत्माको दर्शनका लागि हुनु पर्छ भन्ने प्लेटोले आत्मा सधै पवित्र हुने धारणा राखेका छन् ।

सत्य नै ईश्वर हो भन्ने विश्वास राख्ने उनले मानिसलाई प्रारम्भिक शिक्षा सत्य र इश्वरको ज्ञानको बारेमा हुनु पर्छ भनेर भनेका छन्, जुन आदर्श राज्यको लागि एक महत्वपूर्ण सुरुवात हो ।

Advertisement

प्रारम्भिक शिक्षामा कला, साहित्य र विज्ञानका आधारभूत कुरामात्र राखेका प्लेटोले जब मानिस वयस्क हुन्छ तब खेलकुद र व्यायाममा सहभागी हुनुपर्ने धारणा राखेका छन्। जसले योग्य साहसी व्यक्तिहरु राज्यको सुरक्षाका लागि भविष्यमा तयार गर्छ ।

तत्पश्चातको शिक्षामा विज्ञान र दर्शनको आवश्यकता देखेका उनले राज्य चलाउने व्यक्तिहरु गणित, ज्योतिष विज्ञान र तर्कमा पोख्त हुनुपर्नेमा जोड दिएका छन् । हरेक शिक्षा दर्शनले निर्देशित हुनुपर्ने उनको मान्यता थियो किनकि उनी हरेक कुरालाई कुनै न कुनै अर्थमा जोडेर हेर्ने गर्थे ।

आत्माका तीन आधारभूत तत्वहरुः तर्क, साहस र चाहनाको परस्पर मेलबाट नै न्यायको उत्पत्ति हुने प्लेटोको बुझाइ थियो । न्यायका लागि साहस र चाहना तर्कको अधिनमा रहनु एकदम आवश्यक छ भनी उनले भनेका छन् ।

राज्यलाई मानवको ठूलो रुपमा हेरेका उनले जसरी आत्माका तीन आधारभूत तत्वको सहकार्यको आवस्यकता मानिसमा हुन्छ त्यसरी नै तर्कलाइ राज्य सञ्चालन गर्ने समूह, साहस भनेको सुरक्षा अंग र चाहना भनेको विज्ञान, कला व्यापार र अन्य विधाको माध्यमबाट राज्यको विकास गर्ने वर्ग हुन् भनी उनले परिभाषित गरेका छन् ।

जसरी आत्मालाई तर्कले निर्देशित गर्नु पर्छ, त्यसरी नै राज्यलाई राज्य सञ्चालन गर्ने समूहले निर्देशित गर्नु पर्छ। जसका मातहतमा सुरक्षा अंग र अरु वर्गहरु रहनु पर्छ भन्ने उनको प्रेरणा वर्तमानमा पनि प्रचालानमै रहेको पाइन्छ ।

राज्य सञ्चालन गर्ने समूह (अभिभावक समूह ) भनेर उनले वर्गीकरण गरेको वर्ग उनको शिक्षा पद्दतिको उच्चतम तहको शिक्षा प्राप्त र तार्किक हुनुपर्ने उनको निष्कर्ष छ । तब मात्र राज्यमा न्याय हुने उनको सोचाइ वास्तवमै सत्यको नजिक रहेको छ ।

प्लेटोले न्यायको परिभाषामा निकै मेहनत गरेको पाइन्छ । राज्यका तीन वर्गले आ–आफ्नो धर्मको पालना गर्नुलाई पनि उनले न्याय मानेका छन् । अभिभावक समूह भनेर राज्य सञ्चालनमा अहम भूमिका खेल्ने वर्गले तर्कसंगत रुपमा न्यायको सम्पादन गर्नु पर्ने उनको तर्क छ ।

जसरी मानिसको आत्मामा तर्कले उसको साहस र चाहनालाई सन्तुलनमा राख्नु पर्छ, त्यसरी नै अभिभावक समूहले राज्यका बाँकी समूहलाई नियन्त्रणमा राख्नु उनले जरुरी ठानेका छन् । जसरी मानिसको पतन उसले आफ्नो चाहना बसमा राख्न नसकेर हुन्छ, त्यसरी नै उसका आम जनतालाई नेतृत्व समूहले नियन्त्रण गर्न नसक्ने अवस्थामा राज्यको पतन हुन जान्छ, यो कुरामा नेतृत्व तह र जनता पनि सजग रहनु अत्यावश्यक छ ।

साम्यवादलाइ आदर्श राज्यको अर्को खम्बा मानेका उनले । राज्यका हरेक कुरामा साम्यवाद आवश्यक देखेका थिएनन् । राज्य सञ्चालन गर्ने समूह या नेतृत्वमा कम्तीमा पनि सम्पत्ति र परिवारको विषयमा साम्यवाद हुनुपर्ने उनको धारणा थियो ।

सम्पत्तिका लागि राज्यको सत्तामा बस्नेहरुले कुनै पनि हालतमा न्याय गर्न सक्दैनन् र परिवारको मोहमा परेर मानिस सम्पत्तिको आर्जनमा चाहना राख्ने हुनाले उनले राज्य सञ्चालन गर्ने तह जसलाई उनले राजा भनेका छन्, उनको परिवार पनि हुनु हुन्न भन्ने तर्क थियो । यो चरम आदर्शवादी चिन्तन भए पनि एकदमै तार्किक कुरा हो , वर्तमान युगमा पूर्ण रुपले सम्भव नदेखिए पनि कम्तीमा नेतृत्व तह सम्पत्तिमा साम्यवादी हुनु आवश्यक र सम्भव पनि छ ।

चौथो खम्बाको रुपमा दार्शनिक राजाको परिकल्पना गरेका प्लेटो एकात्मक राज्यको पक्षपाती भए पनि उनका विचार वर्तमान लोकतान्त्रिक युगमा पनि सान्दर्भिक छन् । लोकतन्त्रमा जनताले आफ्नो नेतृत्व आफैंले चुन्ने भए पनि कम्तीमा जनताले चुनेका नेतृत्वहरु दर्शनशास्त्रका अध्यता हुनुपर्ने विचार राख्नु अन्यथा हुन सक्दैन ।

राज्यको नेतृत्व गर्नेहरु कम्तीमा पनि एक तहसम्म शिक्षित हुनु (अझ राजनीति शास्त्रकै हुनु), सम्पत्तिको कुरामा साम्यवादी हुनु, (जब राज्यले नै उसको जीवनको आवश्यकता पूरा गरिदिन्छ भने त्यो भन्दा बढी लोभ गर्नु किन्चित पनि न्याय संगत हुँदैन), वर्तमान परिप्रेक्ष्यमा पनि सान्दर्भिक र विचारणीय नै छन् ।

लोकतन्त्र प्लेटोले भनेको जस्तै शिक्षित जनता भएको राज्यमा मात्र फलदायी हुन्छ, जबसम्म राज्यका जनता शिक्षित र तार्किक हुँदैनन्, तबसम्म आफ्नो अधिकारका बारेमा जानकार पनि हुँदैनन् । उनीहरु छान्ने नेतृत्व पनि योग्य र सक्षम हुँदैनन् । हाम्रो जस्तो विकासोन्मुख देशमा असल शिक्षा प्रणालीको विकास र प्रयोग नहुँदासम्म हामीले पाउने नेतृत्व प्लेटोको गरेको आदर्श राज्यको परिकल्पनाको ठ्याक्कै विपरीत हुन्छ भन्दा अत्युक्ति हुने म देख्दिनँ ।

शिक्षाको उद्देश्य तर्क शक्तिको विकास गर्नु हो । परम्परा धान्ने, जागिर खाने या सम्पत्ति कमाउन जालसाँझी गर्न सिकाउने खालको हुनु शिक्षाकै अवमूल्यन हो, जुन मानव जाति र राज्यको लागि अन्ततोगत्वा प्रत्युत्पादक हुनेछ ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया