स्याङ्जालीले पद्मालाई किन भोट दिने ?

सूर्यप्रकाश गैरे ‘पारस’ २०७९ कार्तिक १३ गते १३:०२

हामी मुलुकमा नयाँ व्यवस्था स्थापनापछि दोस्रो पटक हुन लागेको संघीय र प्रदेश तहको निर्वाचनको संघारमा उभिएका छौं । निर्वाचनको कारण पूरै देश नै निर्वाचनमय बनेको छ । हरेक दुई जना उभिएको ठाउँमा राजनीतिक दल र उम्मेदवारकै विषयमा छलफल हुने गरेको छ । लोकतान्त्रिक व्यवस्थामा उभिएको मुलुकमा आम निर्वाचन सो मुलुकको भविष्यसँग जोडिएको हुन्छ ।

Advertisement

त्यसैले सबै पेशा वा क्षेत्रमा रहेका व्यक्तिहरु पनि यति बेला आफ्नो दैनिकीको बाबजुद राजनीतिक दल, एजेन्डा र उम्मेद्वारको विषयमा छलफलमा जोडिन जरुरी हुन्छ । किनकी यो आम निर्वाचनमार्फत हामीले आगामी ५ वर्षको लागि निश्चित उम्मेद्वारलाई विजयी गराएर लाइसेन्स दिन्छौं ।

निर्वाचनको कोणबाट यति बेला स्याङ्जालाई देशभरीबाट नै आम मतदाताले ध्यान दिएर नियालिरहेका छन् । किनकी स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा मुलुकका दुई ठूला राजनीतिक दल एमाले र कांग्रेसका पदाधिकारी तहका व्यक्तित्व एकापसमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

अन्य धेरै उम्मेद्वारबाहेक मुख्य प्रतिस्पर्धीमा पद्मा अर्याल नेकपा एमालेको निर्वाचित केन्द्रीय सचिव हुनुहुन्छ भने धनराज गुरुङ नेपाली कांग्रेसको निर्वाचित उपसभापति हुनुहुन्छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा दुबै उम्मेद्वारको आ–आफ्नो ठाउँबाट झण्डै समान भूमिका निर्वाह भएको हुनस क्छ । किनकी उहाँहरु दुबैले अहिलेसम्मको आफ्नो जीवनको पूरा अंश मुलुकको लोकतान्त्रिक आन्दोलनमा व्यतित गर्नुभएको छ ।

७ दशकभन्दा धेरै समय विभिन्न स्वरुपको लोकतान्त्रिक आन्दोलनपश्चात हामी वर्तमान अवस्थामा उभिएका छौं । अर्थराजनीतिक दृष्टिकोण, केही प्रणाली र सुशासनको अभ्यासको सन्दर्भमा केही प्रश्नबाहेक औसतमा मुलुकले राजनीतिक स्थिरता प्राप्त गरेको छ ।

Advertisement

त्यसैले अब हामी लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै, राष्ट्रियताको रक्षा गर्दै समृद्ध मुलुक निर्माण गर्ने महाअभियानमा केन्द्रित हुनुपर्छ । अन्यथा विश्व समाजमा समृद्धिको कोणबाट नाप्दा हामी निकै पछाडि परिसकेका छौं ।

त्यसैले निर्वाचनको संघारमा उभिएर सबै स्याङ्जा २ का मतदाताले तुलनात्मक रुपमा अनुभवी, निष्ठावान र क्षमतावान उम्मेद्वार को हो भन्ने विषयमा बिना पूर्वाग्रह छलफल गर्नुपर्दछ । हामी राजनीतिक र शैक्षिक चेतनाको हिसाबले पनि विगतको तुलनामा धेरै माथि उठिसकेका छौं, त्यसैले कुनै पनि उम्मेद्वारलाई दलीय भित्तामा टाँसिएर आग्रहपूर्ण आरोप लगाउनु हुँदैन ।

दलीय हिसाबले व्यवस्थालाई हेर्ने दृष्टिकोणमा यतिबेला हामीले कुनै बहस गरिरहेका छैनौ । अब हामी सबैले चाहेको देशको समृद्धि हो, स्याङ्जाको विकास हो । यहीँनेर हामीले पेचिलो एवं यथार्थपरक छलफल यतिबेला नै गरौं । उम्मेद्वारको छलफल गर्दा देशको स्वाभिमान हेरेर गरौं, हाम्रा बालबालिकाको भविष्य हेरेर गरौं, हाम्रो भविश्य हेरेर गरौं र आजका हाम्रा वृद्ध आमाबुवाको वर्तमान हेरेर गरौं ।

विगतको निर्वाचनमा हामीले स्याङ्जाबाट पद्मा अर्याललाई निर्वाचनमा विजयी बनाएर पठाएपछि उहाँले स्याङ्जाको मात्रै नभएर मुलुकको नै शिर ठाडो हुने काम गर्नुभएको छ । उहाँकै अगुवाईमा देशले आफ्नो छुटेको भूगोलसहितको नयाँ नक्सा छापेको छ । उहाँकै अगुवाईमा नेपालले पहिलो पटक आफ्नो क्षमता प्रयोग गरेर सगरमाथाको उचाई नाप्ने काम गरेको छ ।

मुलुककै समृद्धिको विषयमा पनि उहाँले नयाँ कामको प्रारम्भ गर्नुभएको छ । मुलुकका सबै किसानसँग जोडिएको रासायनिक मलको कारखाना खोल्ने विषय उहाँले प्रारम्भ गरेपछि वर्तमान सरकारले पनि त्यसलाई आफ्नो कार्यसूचीमा अगाडि बढाएको छ ।

पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नेगरी कृषि नीतिको निर्माण गर्ने र स्वास्थ्य क्षेत्रमा सबैको पहुँचको लागि एक वडा एक स्वास्थ्य चौकी र एक पालिका एक अस्पतालको अवधारणालाई पहल गर्नुभयो, जुन आज कार्यान्वयनको प्रक्रियामा रहेको छ ।

त्यस्तै, सरकारमा रहेर मन्त्रालयको जिम्मेवारी बहन गरिरहँदा नेतृ अर्यालले आफ्नो जन्मभूमी स्याङ्जाको समृद्धिको क्षेत्रमा धेरै विषयको सुरुवात गर्नुभएको छ । सिद्धार्थ राजमार्गलाई आधुनिक ढंगले विस्तार गर्ने कामको प्रारम्भ भएको छ, जिल्लाभित्र खेलमैदानहरु, चण्डीभन्ज्याङदेखि साँखरसम्मको बाटोको स्तरोन्नतिको पहल, विभिन्न सामुदायिक भवन, शिक्षा क्षेत्रमा आधुनिकीकरणको प्रारम्भ, आदि लगायतको उहाँको नेतृत्वमा धेरै कामहरु अगाडि बढेका छन् । केही महत्वपूर्ण काम पूरा पनि भएका छन् ।

नेतृ अर्यालले विगतका कामलाई पूरा गर्दै आगामी दिनमा स्याङ्जाको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, सेखाम–चापकोट कालीगण्डकी करिडोर सम्पन्न गर्ने, स्वरेकमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ आयोजना, एक पालिका एक उद्यमको विकास, पर्यटन क्षेत्रको विकास, आदि लगायत स्याङ्जाको समृद्धिको विषयमा आफ्नो नयाँ प्रतिवद्धता अगाडि सार्नुभएको छ ।

मानिसलाई नाप्ने सबैभन्दा ठूलो कसी भनेको व्यवहारिक अवसर हो । जुन अवसरलाई स्वार्थी वा गलत नियत भएको व्यक्तिले दुरुपयोग गर्छ भने असल नियत भएको र क्षमतावान व्यक्तिले सो अवसरलाई समाज र इतिहासका निम्ति खर्च गर्छ । आज स्याङ्जा जिल्लामा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुभएकी नेतृ अर्यालले आफूले प्राप्त गरेको अवसरलाई राष्ट्रकै निम्ति उच्चतम रुपमा प्रयोग गर्ने निरन्तर प्रयत्न गर्नुभयो, जुन कुराको प्रमाण आज मुलकसँग नै उहाँले गरेका काम र पहलहरुको रुपमा छ ।

नेतृ अर्यालले पहिलो कार्यकालमा प्राप्त गरेको अवसरमा राष्ट्र र जिल्लाको लागि जे जति कामको प्रारम्भ गर्नुभयो, त्यसको कार्यान्वयन मुलुक, जिल्ला र जनताको लागि अनिवार्य आवश्यकताको विषय हो । भुँई तहदेखि नै सामाजिक र राजनीतिक संघर्षबाट तिखारिंदै राज्यको केन्द्रीय शासकीय भूमिकामा रहेर गतिशील एवं क्षमतावान भूमिका पदर्शन गरिसक्नुभएकी अर्याललाई अधुरा कामहरु पूरा गर्न र समृद्ध मुलुक निर्माण गर्नका लागि नयाँ कामको प्रारम्भ गराउन पुनः अभिमत दिएर पठाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया