दीपक मनाङेलाई स्पष्टीकरण दिन आयोगको निर्देशन

समाधान संवाददाता २०७९ कार्तिक १३ गते १९:१३

पोखरा ।
गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मनाङ प्रदेश सभा २ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध भइसकेका गुरुङलाई आयोगले निर्वाचन खर्चका सम्बन्धमा २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

Advertisement

‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ ‘३० लाखमा नेपालमा चुनाव जित्छ यार, मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी मनाङेले दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टिकरण सोधेको हो ।

आयोगले गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेशसभा ‘२’ को लागि तोकेको खर्चको सीमा २३ लाख रुपैयाँ छ । स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंले दिएको अभिव्यक्तिले निर्वाचनको स्वच्छता र निष्पक्षतामा समेत प्रश्न उठाउनुका साथै तपाईंले मनोनयन गर्दाको एक दिनमात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भनी स्वीकार गरेबाट निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलापलाई इंगित गरेको देखिन्छ । तपाईंले दिएको अभिव्यक्ति प्रचलित निर्वाचनसम्बन्धी कानुन र निर्वाचन आचारसंहिताको प्रतिकूल हुने देखिएकाले पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय मनाङमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहोला ।’

‘तपाईँले गर्ने निर्वाचन खर्च मनाङ जिल्ला प्रदेश सभा ‘२’ को लागि आयोगले तोकेको खर्चको सीमा २३ लाखभित्र हुनुपर्छ÷पर्दैन ? यदि तपाईँको अभिव्यक्ति सत्य हो भने तपाईँले मनोनयन पत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको १५ लाखको सक्कल बिल भौचर, तपाईंले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नम्बर र उक्त रकम प्राप्तिको स्रोतसमेत खुलाई जवाफ पेश गर्नू,’ आयोगले भनेको छ ।
आयोगले तोकेको खर्च सीमा रकम साँच्चै त्यस क्षेत्रका लागि अपुग हो भने कुन कुन शीर्षकमा २३ लाख रकम खर्च भयो, त्यसको फेहरिस्त पेश गर्न भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया