जितेपछि टिभीमा होइन, घरदैलोमै भेटिन्छुः श्रीनाथ

समाधान संवाददाता २०७९ कार्तिक १४ गते ११:३८

पोखरा ।
नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकास र समृद्धि नै आफूहरुको मूल एजेन्डा रहेको बताएका छन् ।

Advertisement

आइतबार पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसिरमा हुने धारणा राखे ।

‘मुल उद्देश्य भनेकै विकास र समृद्धि हाँसिल गर्ने हो । यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो । त्यो संकल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात तपाईहरुले ४ मंसिरमा मतदान मार्फत गर्नुहुनेछ,’ उनले भने ।

बरालले पोखरालाई पर्यटकीय राजधानी घोषणामात्र होइन, त्यसका लागि चाहिने पूर्वाधार प्रकृतिमैत्री र यहाँको संस्कृति मैत्री भएर निर्मांण गर्ने प्रतिवद्धता जनाए । सुकुम्बासी समस्याको समाधान, एयरपोर्ट निर्माण गर्दा महत्वपूर्ण योगदान पुर्‍याएका स्थानीयका समस्या समाधान, कृषि क्षेत्रको समग्र विकास गर्दै यसका पकेट क्षेत्र निर्माण लगायतका महत्वपूर्ण सवालमा आफूले जनताको प्रतिनिधि भएर काम गर्ने उनको वाचा छ ।

उम्मेदवार बरालले असली जनताको प्रतिनिधिका रुपमा आफूलाई देखाएर छाड्ने अठोट गरे । ‘निर्वाचित भएपछि आफ्नो प्रतिनिधिले के गरिरहेको छ भन्ने थाहा नहुने, कहिलेकाँही टेलिभिजनका स्क्रिनमा देखिने होइन । म जनताको घरदैलोमै रहन्छु र संसदमा यहाँका समस्यालाई मुखरित गर्ने काम गर्छु,’ उनले भने ।

Advertisement

नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (१) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने योजना सुनाए । आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको जिकिर गर्दै उनले विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पूरा गर्ने प्रतिवद्धता जनाए ।

कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जनादेश बिर्सेर बीचमै संसद र संविधानमाथि आक्रमण गर्नेहरुलाई जनताले चिन्नुपर्ने तर्क गरे । नेकपा एमाले र त्यसको नेतृत्वप्रति संकेत गर्दै उनले त्यस्ता शक्तिलाई मत दिए पछुताउनुको विकल्प नहुने तर्क गरे ।

कार्यक्रममा कांग्रेसको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार बृन्दादेवी राना, नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य राजकाजी गुरुङ, नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापा, राजमोका हरिबहादुर खत्री, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पूर्ण लामा, कांग्रेस क्षेत्र नम्बर २ का सभापति केशर निर्दोशी, कांग्रेस युवा नेता दिनेश आचार्य र नेकपा एसका १५ का नेता खेमबहादुर पौडेलले गठबन्धन र गठबन्धनका उम्मेदवारले जित्नु पर्नाका कारणमाथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया