रिठेपानी डाँडा कटान सुरु १५ दिनपछि

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पूर्वपट्टिको रिठेपानी डाँडा कटान १५ दिनपछि सुरु गरिने भएको छ । उक्त डाँडा कटानका लागि विमानस्थल आयोजनालाई वन मन्त्रालयले केही समयअघि स्वीकृति दिएको थियो ।
विमानस्थल आयोजना प्रमुख विनेस मुनकमी आउँदो १५ दिनमा डाँडा कटान सुरु हुने बताउँछन् । उक्त डाँडा ४० मिटर होचो बनाउने योजना छ । तर १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिने मनकमीले जानकारी दिए ।
भौतिक निर्माणका हिसाबले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जहाज उडानका लागि तयार छ । धावन मार्ग, टर्मिनल भवन र अरु उपकरणको चाँजोपाँजो सबै मिलिसकेको छ ।
विमानस्थल नजिककै ल्यान्डफिल साइट सार्नुपर्ने काम भने बाँकी छ । पोखरा महानगरपालिकाले ल्यान्डफिल साइटका लागि विकल्प तयार पार्न सकेको छैन । मेयर धनराज आचार्य फोहोर लगेर थुप्रो लगाउने ल्यान्डफिल साइट भन्दा पनि नयाँ विकल्प खोजी भइरहेको बताउँछन् ।
त्यस क्रममा उनले फोहोरबाट बिजुली र मल निकाल्ने प्रविधि बुझ्न हेटौंडा हुँदै धरान र भारतको दिल्लीसम्मको अध्ययन अवलोकन भ्रमण गरिसकेका छन् । विमानस्थल आयोजना प्रमुख मुनकमीका अनुसार रिठेपानी डाँडा कटानपछि उपकरण परीक्षण उडान अर्थात क्यालिब्रेसन उडान गरिनेछ ।
‘नोभेम्बर, डिसेम्बरभित्रै क्यालिब्रेसन उडान हुन्छ,’ उनले भने । त्यसपछि नै आउँदो अंग्रेजी नयाँ वर्षको छेको पारेर मध्य पुसदेखि पोखरा विमानस्थलबाट उडान सुरु गर्ने नेपाल नागरिक उड्ड्यन प्राधिकरणको तयारी हो ।
आयोजना प्रमुख मुनकमीले क्यालिब्रेसन उडानपछि नै वायुसेवा कम्पनीहरुलाई आह्वान गरिने जानकारी दिए । तर पोखरासम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउन पायक पर्ने भारत गोरखपुरतिरको आकाशे मार्ग भारतले अझै दिएको छैन ।
त्यसका लागि यो विमानस्थल निर्माण सुरु गर्दादेखि नै कुरा उठेको थियो । नेपाल सरकारले त्यसबारे कुनै कूटनीतिक पहल गर्न सकेको छैन । विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक निर्माण भएको छैन । तेल भर्न आवश्यक आयल डिपो बनेको छैन ।
मुनकमी नेपाल आयाल निगमलाई जग्गा छुट्याएर ३ वर्षअघि देखि तोकेता गरेको बताउँछन् । ‘उहाँहरुले २७ हजार लिटरको साधन तयार पारेका छौं भन्नुभएको छ,’ उनले भने । अहिले चलिरहेको पोखरा विमानस्थलकै डिपोको तेल गाडीमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिने निगमको तयारी छ ।
सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय सीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो । कोभिडका कारण विमानस्थल निर्माण ढिला पूरा भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको थियो । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीका तर्फबाट चिनिया सरकारले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग भएको विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ ।
स्वदेशी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान गरी भारतका सीमा सहरमा सेवा दिन रुचि देखाएको थियो । तर अहिले उसको रुचि सेलाएको छ । पछिल्लो समय त्यसका लागि बुद्धले कुनै पहल वा प्राधिकरणसँग सम्झौता या समझदारी गरेको छैन ।
पोखरा विमानस्थल सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण भनेको ल्यान्डफिल साइट सार्नुपर्ने हो । तर नयाँ ठाउँ खोजिवरि पोखरा महानगरपालिकाले कार्यान्वयन गर्न थुप्रै समय लाग्ने देखिन्छ । चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा निर्मित पोखरा विमानस्थल घाटामा जाने र यहाँबाट अन्तर्राष्ट्रिय उडान सम्भव नभएको भन्दै आलोचना पनि हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया