पिएम कपमा गण्डकीको विजयी सुरुआत

समाधान संवाददाता २०७९ कार्तिक १५ गते १०:१९

पोखरा ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । गण्डकीले पहिलो खेलमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै विजयी सुरुआत गरेको छ ।

जितको लागि २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२ ओभर २ बलमा सबै विकेट गुमाउदै मात्र १ सय ३९ रन बनायो । सुदूरपश्चिमका लागि युवा ब्याटर मिलन बोहराले ६४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

गजेन्द्र बोहराले ६८ बलमा ५ चौकासहित ३५ रन, कप्तान राजु रिजाल १, बसन्त खत्री ९, बसन्त कार्की १० रन बनाउदा दीपक टमाटा र नारायण जोशी दुबै शून्यमा आउट भए । शेर मल्ल ३ र हेमन्त धामी ८ रन जोडे ।

Advertisement

बलिङमा गण्डकीका विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । उनले निर्धारित १० ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ९ ओभरमा ४ मेडनसहित १२ रन खर्चेर २ विकेट लिदा अभिषेक बस्नेतले २, कमल परियार र अमृत गुरुङले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गमाएर २ सय ८ रन बनाएको थियो । गण्डकीका युवा ओपनर अर्जुन कुमालले १ सय ५ बलमा १० चौकासहित सर्वाधिक ६३ रन बनाए । समिर कंडेलले २६ रन बनाउदा विधान श्रेष्ठ र अभिषेक बस्नेत २५–२५ रन बनाए । सन्दीप क्षेत्री १९, कमल परियार र विपिन खत्रीले १३–१३ रन जोडे ।

Advertisement

सुदूरपश्चिमका शेर मल्ल, कैलाख ऐर र नारायण जोशीले २–२ विकेट लिए । मल्लले १० ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट र जोशीले १० ओभरमा २ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । ऐरले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । नरेन्द्र साउदले १ विकेट लिए ।

तपाईको प्रतिक्रिया