भूमिगत पार्किङमा महानगरले चलायो डोजर

समाधान संवाददाता २०७९ कार्तिक १५ गते १७:२३

पोखरा ।
पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङ खाली गर्न सुरु गरेको छ । खालि गर्न पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै महानगरले मंगलबारबाट बल प्रयोग गरी भूमिगत पार्किङ खाली गर्न थालेको हो ।

Advertisement

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पटकपटक जानकारी गराउदा पनि अटेर गरेपछि महानगरले डोजर लगाए खाली गर्न सुरु गरेको बताए । ‘पटकपटक जानकारी गरायौं, चाडपर्वको बेला भनेर धेरै समय दियौं तर अटेर गरेपछि महानगरले बल प्रयोग गरेर मंगलबारबाट सुरु गरेका हौै,’ उनले भने ।

यसअघि भूमिगत पार्किङसहित महानगरपालिकाबाट कर छुटको सुविधा लिएर निर्माण गरिएका व्यापारिक भवनहरूले ती पार्किङहरूलाई पार्किङको रूपमा नभई व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि महानगरपालिकाले पटक पटक हटाउन अनुरोध गरेको थियो ।

सूचनापछि धेरै जनाले भूमिगत पार्किङ खाली गरेर पार्किङकै रुपमा प्रयोग गरेको मेयर आचार्यले बताए । ‘हाम्रो सूचनापछि धेरैजनाले हटाउनुभएको छ, लेकसाइडमा सबै पार्किङकै रुपमा प्रयोग भएका छन्, अन्य ठाउँमा अटेर गरेका केहीलाई पनि हामी बल प्रयोग गरेर हटाउछौं,’ मेयर आचार्यले भने ।

अधिकांशले महानगरपालिकाको अनुरोध बमोजिम पार्किङ खाली गरेको भए पनि अटेर गरी व्यवसाय सञ्चालन गरिरहेका कतिपय भवनहरूमा महानगरपालिकाले मङ्गलवार डोजर नै चलाएको हो ।

Advertisement

महानगरले अटेर गरेको भन्दै पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्रपुल स्थित गरिमा विकास बैङ्क रहेको भवन लगायत स्थानहरूमा महानगरपालिकाले डोजर चलाएको हो । सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको बिगबजार भने स्थानान्तरणको क्रममा रहेकाले सोका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको छ ।

‘महानगरपालिकाको निर्णय कार्यान्वयन गर्नका लागि हामी दिनरात खटिरहेका छौँ, नयाँ स्थानमा हामीले निर्माणको काम गरिरहेका छौँ, यता सामानहरू प्याक गरिरहेका छौँ, विगबजारका एक सञ्चालकले भने, ठूलो व्यवसाय भएका कारण केही समय त लाग्दो नै रहेछ ।’ उनले राज्यको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको प्रतिबद्धतासमेत जनाए ।

महानगरपालिकाले विगबजारका सञ्चालकलाई पार्किङ खालि गर्नका लागि ७२ घण्टाको अल्टिमेटम दिएको छ । ‘तपाईंहरुलाई कति घण्टा लाग्छ ? मैले २४ घण्टा मात्र भनेको होइन, ४८ घण्टा हो की, ७२ घण्टा हो ? अव दिनको कुरा नगरौँ,’ महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने, ‘तपाईंहरुलाई महानगरपालिकाले ३५ दिन मात्र होइन, दुई महिना बढी समय त दिइसक्यो ।’ रातदिन काम गरेर भए पनि पार्किङ खालि गर्न सञ्चालकलाई उनले निर्देशन दिए ।

महेन्द्रपुलस्थित सञ्चालनमा रहेको गरिमा विकास बैंकको शाखाको अगाडी रहेको फलामको रेलिङ बार महानगरपालिकाको डोजरले भत्काएको छ । बैंक तत्काल स्थानान्तरण गरी भूमिगत पार्किङ खाली गर्न मेयर आचार्यले निर्देशन दिए ।

भूमिगत पार्किङलाई दुई पाग्रें र न्युरोड क्षेत्रमा रहेका पार्किङमा कार पार्किङको रूपमा प्रयोग गर्ने योजना बनाइएको मेयर आचार्यले । सडकको पार्किङलाई व्यवस्थापन गर्ने गरी काम थालिएको उनको भनाइ छ ।

महानगरपालिका क्षेत्रभित्र २ सय ५० को हाराहारीमा अन्डरग्राउन्ड पार्किङसहितका भवनहरू निर्माण भएका छन् । ती पार्किङलाई पार्किङ कै रूपमा प्रयोग गरिए सडकमा हुने अव्यवस्थित पार्किङ र ट्राफिक जामको समस्यामा कमी आउने विश्वास महानगरले लिएको छ ।

तपाईको प्रतिक्रिया