१६ देशका भूगर्भविद पोखरामा

पोखरा ।
अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन ३५ औं हिमालय–काराकोरम–तिब्बत वर्कसपमा सहभागी हुन १६ देशका भूगर्भविद पोखरामा आएका छन् ।
नेपाल भौगर्भिक समाजको आयोजनामा पोखराको होटल पोखरा ग्राण्डीमा कात्तिक १६ गतेबाट १८ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन भूगर्भविद पोखरा आएका हुन् । अमेरिकामा भएको ३४ औं सम्मेलनले ३५ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो ।
सन् २०२१ मा हुने भनिएता पनि कोरोनाका कारण १ वर्ष ढिलो हुन पुगेको हो । उक्त सम्मेलनमा १ सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुति र १२ वटा विशेष बहसमूलक कार्यक्रम सम्मेलनमा कन्भेनर डाक्टर कविराज पौड्यालले जानकारी दिए । सम्मेलनमा स्वदेशी, विदेशी गरी ३ सय भन्दा बढीको सहभागिता हुने पौड्यालले बताए ।
यस्ता अन्तर्राष्ट्रिय स्तरका सम्मेलनले नेपालको विज्ञान प्रविधिको क्षेत्रमा विकास हुनुका साथै नेपालको समग्र पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास लिएको कन्भेनर पौड्यालले उल्लेख गरे । सम्मेलनले भू–विज्ञान र इन्जिनियरिङ क्षेत्रका विशेषज्ञहरु, वैज्ञानिकहरु, अनुसन्धानकर्ताहरु, शिक्षाविद, नीति निर्माता, विद्यार्थी र पेशागत समुदायका व्यक्तित्वहरुबीच नवीनतम् ज्ञान, विज्ञान र प्रविधिका मौलिकताको बारे विचारहरु आदानप्रदान हुने लक्ष्य राखिएको उनले बताए ।
सन् १९८५ मा बेलायतको लेसेस्टर विश्वविद्यालयमा हिमालय क्षेत्रका वैज्ञानिक अनुसन्धानमा संलग्न विश्वभरका भू–वैज्ञानिकहरु जम्मा भई पहिलोपटक हिमालयन कार्यशाला गोष्ठी सम्पन्न गरेका थिए । त्यसपछि दोस्रो, तेस्रो र चौथो सम्मेलनहरु क्रमशः फ्रान्स, बेलायत र इटालीमा सम्पन्न भएका थिए ।
नेपालमा नेपाल भौगर्भिक समाजले २ पटक सम्मेलन आयोजना गरिसकेको छ । सन् १९९४ र सन् २०१२ मा २७ औं हिमालय–कारकोरम तिब्बत कार्यशाला आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिसकेको हो ।
सम्मेलनले हिमालय क्षेत्रमा बसोबास गर्ने समुदायमा यस्ता नवीन अनुसन्धानको प्रचारप्रसार हुनु र यस क्षेत्रमा हुने भौगर्भिक प्रक्रियाहरुको सही बुझाइले दिगो विकासमा समेत टेवा पुग्ने नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. अनन्तप्रसाद गजुरेल दाबी गरे ।
तपाईको प्रतिक्रिया