अब उदाहरण बन्ने पालो पोखराकोः अरुण गिरी

समाधान संवाददाता २०७९ कार्तिक १६ गते ११:११

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेशसभातर्फ कास्की क्षेत्र नम्बर २(२) मा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै उनले मनसँगै मत पनि परिवर्तन गरी उदाहरण बन्ने पालो पोखराको रहेको बताएका छन् ।

Advertisement

परिवर्तनका लागि अब नागरिकले मत परिवर्तन गर्नुपर्ने बेला आएको उनको तर्क छ । उनले धरान र काठमाण्डौका जनताले स्थानीय चुनावमा मत फेरेकै कारण अहिले नेपालकै उदाहरणीय कामहरु भैरहेको उल्लेख गर्दै पोखराले पनि अब त्यो आँट गर्नुपर्ने बेला आएको बताए ।

विदेशिन बाध्य युवापुस्ता, शिक्षा र स्वास्थ्यमा हुने ब्रम्हलुट, प्रशासनिक क्षेत्रमा बढेको भ्रष्टाचार र खर्चिलो शासनप्रणालीले गर्दा देश समस्यामा पर्दै गएको उल्लेख गर्दै अझै पनि युवा सोँच र व्यवहारलाई साथ नदिई पुरानै दलहरुलाई जिताउने हो भने परिवर्तन सम्भव नभएको उनको दाबी छ । ‘हामी सँधै नेतालाई गाली गर्छौँ । यसो गरेन, उसो गरेन भन्छौँ ।

र, फेरि त्यही नेतालाई बारम्बार जिताएर नेतृत्वमा पठाउँछौँ । अझै पनि जनताले मत नबदल्ने हो भने त्यहि नियती पुनः दोहोरिने छ,’ गिरीले भने, ‘त्यसैले यो पटक मत बदलौँ । राप्रपाले देशलाई भ्रष्टाचारमुक्त र सुशासनतर्फ डोर्‍याउने कसम खाएर जनतामाझ आएको छ । व्यक्तिगत रुपमा पनि म मेरो सोँच र व्यवहारमा प्रस्ट छु । तपाईहरुले मलाई दिनुभएको विश्वास र मत आजिवन शीरमा राख्नेछु ।’

प्रदेशसभा सदस्य उम्मेदवार गिरीले आफ्नो घोषणापत्रमा विभिन्न २४ बुंदे एजेन्डाहरु समेत समावेश गरेका छन् । खासगरि युवा लक्षित एजेन्डाहरुलाई उनले प्राथमिकतामा राखेका छन् । युवालाई स्वरोजगार बनाउन स्टार्ट अप नीति निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने गिरीको अठोट रहेको छ । साथै उनले संसदलाई सत्ताको जोडघटाऊ गर्ने थलोको रुपमा नभई जनताको आवाज बोल्ने थलोको रुपमा रुपान्तरण गर्ने दाबी गरेका छन् ।

Advertisement

गण्डकी प्रदेशमा पर्यटनको सम्भावना देखाउँदै उनले ‘सिनेमा टुरिज्म’मार्फत प्रदेशलाई देशविदेशमा चिनाउने लक्ष्य लिएका छन् । कृषकहरुको सन्दर्भमा उनले एग्रो टुरिज्ममार्फत उत्पादन र त्यसको बजारिकरणको अवधारणा अगाडि सारेका छन् । त्यस्तै पोखरालाई बुटिक शहरको रुपमा विकास गर्दै मौलिक तथा साँस्कृतिक कलाको प्रवद्र्धनका साथै सम्पदा क्षेत्रको संरक्षणमा जोड दिने नीति अवलम्बन गर्ने उनले बताएका छन् ।

उनले पोखरा १६ मा रहेको गन्धर्भ वस्तीलाई ‘सारंगी भिलेज’को अवधारणामा विकास गर्ने र लोपोन्मुख सिप र कलाको संरक्षणको नीति लिएका छन् । धार्मिक हिसाबले आफ्नो क्षेत्र र गण्डकी प्रदेशभर रहेका मठमन्दीरहरुको प्रवद्र्धन गरि धार्मिक पर्यटनको विकास पनि गिरीले आफ्नो एजेन्डामा समेटेका छन् ।

उनले व्यवसायीहरुलाई लक्षित गर्दै व्यवसाय विकास कोष निर्माण गरि समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग गर्ने र घरेलु उद्योगको विस्तारमा काम गर्ने बताएका छन् । ट्राफिक व्यवस्थापन, खेलकुद मैदानको विस्तारसँगै उनले सेती नदीको दोहन रोक्ने र फेवातालसँगै प्रदेशभर रहेका तालतलैयाको संरक्षण गर्ने नीति निर्माण गर्नेमा आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।

नागरिक सरकारी सेवा लिन जाँदा ‘जुकाघारीमा चर्न गएको बाख्रा’जस्तै हुन परेको भन्दै गिरीले पैसाको आडमा राजनीतिमा टिक्ने प्रवृत्तिलाई निरुत्साहित गरेमात्रै देशमा परिवर्तन सम्भव भएको दोहोर्याए । ’म केही गर्ने सोँच र उर्जासहित राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेशसभामा उम्मेदवारी प्रस्तुत गर्दैछु ।

म गीता छोएर कसम खान्छु कि मेरो सोँच र व्यवहारमा प्रस्ट छु । त्यसैले एकपटक मलाई राप्रपाको चुनाव चिन्ह हलोमा भोट हालेर जिताउनुहोस् । राप्रपाले जित्दा यो देशलाई घाटा हुँदैन, बरु फाइदा नै हुन्छ,’ गिरीले भने, ‘अब पालो युवाहरुको हो । अब उदाहरण बन्ने पालो पोखराको हो ।’

तपाईको प्रतिक्रिया