पर्वतका ४ जनालाई आयोगको छुट्टाछुट्टै स्पष्टीकरण

प्रमिला कुँवर २०७९ कार्तिक १६ गते १६:०५

पोखरा ।
निर्वाचन आयोगले पर्वतका ६ जनालाई स्पष्टीकरण मागेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम शर्मा लामिछाने, जलजला गाउँपालिकाका प्रमुख राजु आचार्य, पञ्चकोसी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक अर्जुनप्रसाद जोशी र राष्ट्रिय भूमी आयोग पर्वतका अध्यक्ष उदय सुवेदीलाई आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

Advertisement

वडाध्यक्ष लामिछानेलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।
वडाध्यक्ष तथा स्थानीय कार्यपालिकाको सदस्य रहेको व्यक्ति कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा संलग्न भए नभएको प्रमाण पेश गर्न आयोगको स्पष्टीकरण पत्रमा भनिएको छ ।

गाउँपालिका प्रमुख आचार्यलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने उजुरी आयोगमा परेपछि निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी जवाफ दिन स्पष्टीकरण सोधिएको हो ।

गाउँपालिकाको अध्यक्ष रहेको गाउँपालिकाभित्र राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिएको पत्रमा उल्लेख छ ।

नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रध्यानाध्यापक जोशीलाई विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
कुश्मा नगरपालिका–१४ आर्थरस्थित विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपि कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोशिस गरेको भनि आयोगमा उजुरी परेको थियो ।

Advertisement

अध्यक्ष सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा जवाफ मागेको छ । ‘तपाईं राष्ट्रिय भूमि आयोग, पर्वतको अध्यक्ष रहेको व्यक्ति कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिन्छ ।

उल्लेखित सन्दर्भमा तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको होइन भन्ने आधार प्रमाण के छ ?’, आयोगको स्पष्टीकणमा भनिएको छ ।

निर्वाचन आचारसंहिताको दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया