उद्यमीलाई हौस्याउँदै दीपक

पोखरा ।
चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर माओवादी केन्द्रका नेता दीपक कोइरालाको मन भत्भती पोल्छ ।
युवालाई आफ्नै भूमिमा अड्याउने उपाय उनीसँग छ । तर त्यसका लागि संघ, प्रदेश र स्थानीय तहले उद्यमशीलता प्रवद्र्धन गर्ने नीति बनाउन जरुरी छ । नीति निर्माणको महत्त्वपूर्ण तहमा पुगेर युवा शक्तिलाई आफ्नै परिवारसँग बस्ने वातावरण बनाउने उनको सपना छ ।
गण्डकी प्रदेशसभामा पुगेर उद्यमशीलता र युवा स्वरोजगारलाई प्रवद्र्धन गर्ने नीति बनाउन उनी कास्की निर्वाचन क्षेत्र १(१) मा उम्मेदवार बनेका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट उनी प्रदेशसभा सदस्य उम्मेदवार हुन् । आफ्नो क्षेत्रमा चुनावी प्रचारप्रसारका क्रममा उनले मतमात्रै मागेका छैनन्, युवा उद्यमीलाई हौस्याएका पनि छ ।
सानादेखि मध्यस्तरका उद्यमी, कृषकलाई उनीहरुकै घरसम्म पुगेर प्रशंसा गर्छन् । उद्यमलाई विस्तार गर्दै थप रोजगारी सिर्जना गर्न हौस्याउँछन् । बुधबार पोखरा २६ मा घरदैलोको क्रममा उनले उद्यमी, कृषक, स्वरोजगार व्यवसायीसँगको भेटलाई प्राथमिकता दिए ।
‘सरकारले उद्यमी उत्पादन गर्न नीतिमात्रै बनाएर पुग्दैन, व्यवहारिक रुपमै सहयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘उद्यम सुरु गरिसकेपछि त्यसलाई जोगाउने उपायको पनि खोजी हुनुपर्छ ।’
उनी युवादेखि वृद्धवृद्धासम्मलाई भेटेर आफूलाई जिताउन आह्वान गरिरहेका छन् । बुधबार उनले वडा नम्बर २६ का भवानीचोक, जलधारे, सक्नेरी, मिजार समाज, उज्ज्वल आमा समूह, वृद्ध आमा समूह, खरानेचोक, शान्तिप्रिय आमा समूह, गुँदेताल चोक पुगेर मतदातासँग भेटघाट गरे ।
उनले आफू निर्वाचित भएपछि स्थानीय कृषक, उद्यमी, व्यवसायीको हित हुने गरी कानुन निर्माण गर्ने प्रतिवद्धता गरे । विकास निर्माणका योजनासमेत कुनै पक्षपात नगरी आवश्यकताका आधारमा बाँडफाँट गर्ने प्रतिवद्धता उनले दोहोर्याए ।
चुनावी भेटघाटमा कांग्रेसकी प्रदेश सहमहामन्त्री कोपिला रानाभाटले यसपल्ट दीपक कोइरालाले लोकप्रिय मतका साथ चुनाव जित्ने बताइन् । ‘स्थानीय चुनावमा पनि हामीले गठबन्धन ग¥यौं,’ उनले भनिन्, ‘त्यसबाट पाठ सिक्दै अबको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनु हामी सबैको दायित्त्व हो ।’
घरदैलेमा माओवादी केन्द्रबाट प्रदेशसभाको समानुपातिक सूचीमा रहेका नेता झलकपाणि तिवारी, माओवादी केन्द्रका अनुसन्धान आयोगका सदस्य कोमलनाथ बराल, कांग्रेसका वडा सभापति शिवबहादुर रानाभाट, माओवादी केन्द्रका वडाध्यक्ष मेघराज भण्डारी लगायतले एकतावद्ध भएर गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरे ।
तपाईको प्रतिक्रिया