सम्पादकीयः साझा पर्व, समृद्ध संस्कृति

समाधान संवाददाता २०७९ कार्तिक १७ गते ११:५८

हिन्दूहरुले मनाउने दसैं, तिहार र छठ सकिएका छन् । पहिले तराईमा मात्र मनाइने छठ अहिले देशभरि मनाउन थालिएको छ । गर्मीको अन्त्य र चिसो सुरु हुने बेलामा यी सबै चाड मनाइनुले हामीमा जलवायुप्रतिको सचेततासमेत दर्साउँछ । अहिलेजति असंवेदनशील हाम्रो समाज कहिल्यै थिएन ।

Advertisement

चाडपर्वहरूको सरोकार जति मौसमसँग छ, त्यति अन्य कुनै कुरासँग छैन । धर्म, रीतिरिवाज, संस्कृति त पछि कालक्रममा जोडिंदै गएका हुन् । मानिस बाध्य हुन्छ भनेर चाडपर्वमा धर्मको चास्नी हालेको वैज्ञानिक तर्क देखिन्छ । धर्म वा चाडपर्वको उद्देश्य मानिसलाई सुखी जीवन बिताउने बाटो हो ।

हिन्दू धर्म अझै वर्णाश्रम व्यवस्थाबाट माथि उठ्न सकेको छैन । कालान्तरमा वर्णलाई जात मान्न थालेपछि यसमा विकृति र विसंगति उत्पन्न भएको हो । चार दिशा, चार आश्रम र चार कार्य–व्यापार । यसलाई नै समाजमा बलशालीहरूले आफूअनुकूल व्याख्या गरे ।

शिक्षा, सुरक्षा, व्यापार र सेवाको क्षेत्रलाई जातीयतामा सीमित पारिदिने व्याख्याले समाज झन् पछाडि गयो । आज यदि गहिरिएर हेरौं भने स्वयम् रोजगार जति सबै सेवाको क्षेत्र हो । त्यसप्रति आज सबै लोभिएका छन्, तर त्यही सेवा गर्ने परम्परागत समुदायलाई भने आज पनि हेय दृष्टिले छौं । चिकित्सक, वकिल, कलाकार, परामर्शदाताले गर्ने काम सेवा त हो नि ।

यो हेय भएन, तर शुद्र भनेर जसलाई हेय ठानियो तिनले के गर्छन् ? लोहार, कामी, दमाईले गर्ने काम पनि सेवा नै हो । आज बुझाइको यो फरक मेट्नुपरेको छ । हामी मेट्ने क्रममा त छौं, तर मेट्ने इच्छाका साथ होइन, स्वार्थवस । आज सम्भ्रान्तहरू पनि द्यौसी, भैलोमा माग्दै हिंड्छन् । यसमा बात लाग्ने कुरा छैन, तर जब तिनको परम्परा हामी अँगाल्छौं भने तिनलाई अँगाल्न किन सक्दैनौ, गाँठी कुरा यो हो ।

Advertisement

नेपालीमा धार्मिक र सांस्कृतिक सहिष्णुता छ । संस्कृति र रीतिरिवाजको प्रचार हुनु राम्रो हो । तर जसको संस्कृति र रीतिरिवाज हामी आत्मसात् गर्दछौं, तिनको सम्मानचाहिँ गर्नै पर्छ । अहिले धर्म परिवर्तन चिन्ताको विषय बनेको छ, प्रायः हिन्दूहरू धर्मान्तरणतर्फ लागेका छन् । यसको मूल कारण समाजमा व्याप्त विसंगति नै हो । हामीले न हिजोजस्तो परम्परा कायम राख्न सक्यौं, न आज समयले मागेको कुरा बुझ्यौं ।

हिन्दू, बौद्ध, इस्लाम, इसाई, किराँत सबै सबै मिलेर सामाजिक विकृतिलाई हटाउँदै जानुछ । हाम्रो विविधिता हाम्रो समस्या होइन, सुन्दरता हो । यसलाई बुझ्न जरुरी छ । विनाको खोजीमा कस्तूरी भौतारिएझैं हाम्रो समाजको विविधता र सुन्दरता नबुझेर यसलाई अपव्याख्या नगरौंं । युगको दायित्व निर्वाह गरौं ।

तपाईको प्रतिक्रिया