सहारा एकेडेमीलाई १५ लाख

पोखरा ।
सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई सूर्यबहादुर केसीको परिवारले १५ लाख रुपैयाँ सहयोग गरेको छ । पोखरामा बिहीबार केसी परिवारले सूर्यबहादुरको दोस्रो वार्षिक पुण्यतिथिमा सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीलाई सहयोग गरेको हो ।
सूर्यबहादुरकी पत्नी प्रेमकुमारीले सहाराका अध्यक्ष हरिराम गुरुङ (सुरज)लाई सहयोग हस्तान्तरण गरिन् । युवा उद्योगी प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र जनताको विश्वासका कारण साथ दिँदै आएको बताए ।
हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुबाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको सुनाए । उनले आफ्नो बुबाको काम र विचारलाई स्थापित गर्नेसँगै जीवन्त बनाई राख्ने प्रण गरे ।
कार्यक्रममा पूर्व एसएसपी कृष्णबहादुर थापा, सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ लगायतले स्व. केसीको जीवनी र समाजसेवाका विविध क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । केसी परिवारले क्लबले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको छ ।
कार्यक्रममा जुमबहादुर गुरुङको स्मृतिमा उनको परिवारले अक्ष्यकोष स्थापना गरेको छ । जुमबहादुरकी श्रीमती तुलसीले ५० हजार रुपैयाँको अध्यक्षकोष स्थापना गरेकी हुन् ।
क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारीले पनि बोलेका थिए । एकेडेमीमा १४ जना कठिन परिस्थितिका बालक आश्रित छन् ।
हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकप प्रतियोगिताको मुख्य प्रयोजनसमेत गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया