आयोजकका दुबै टोली पराजित

समाधान संवाददाता २०७९ कार्तिक १८ गते ११:०९

पोखरा ।
अमरसिंह ब्वाइज क्लबका दुबै टोली प्रथम एबिसी एट ए साइड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताबाट बाहिरिएका छन् । ४५ वर्षमाथिको उमेर समूहको पहिलो पटक आयोजित एटए साइड फुटबलमा आयोजकका दुबै टोली पराजित बने ।

अमरसिंह माविको चौरमा अमरसिंह ब्वाइज क्लबको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा आयोजकको नीलो एक्स पोखरा भेट्रान्ससँग पराजित हुँदा आयोजकको नीलो भने पेनाल्टी सुटआउटमा एक्स वारियरसँग स्तब्ध बन्यो ।

पहिलो खेलमा आयोजक अमरसिंह ब्वाइज(एबिसी सेतो)लाई एक्स पोखराले १–० गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्‍यो । खेलको ७ औं मिनेटमा राजु गुरुङले गोल गर्दै एक्स पोखराको जित सुनिश्चित गरे । उनी खेलको म्यान अफ दि म्याच बने ।

Advertisement

दोस्रो खेलमा काठमाडौंको नाइटकिङ्स सानो गौचरनले लेकसाइड भेट्रान्सलाई १–० गोल अन्तरले हरायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमै प्रकाश रानामगरले गरेको गोल निर्णायक बन्न पुग्यो ।

रानामगरले खेलको ६ औं मिनेटमा गोल गर्दै अन्तिम ८ को स्थान पक्का बनाए । उनी खेलमा म्यान अफ दि म्याचको हकदार बने । तेस्रो खेलमा भने गण्डकी प्रदेशको टोली अनुपस्थिति हुँदा बुटवल भेट्रान्सले वाक ओभर पायो ।

Advertisement

अन्तिम खेल आयोजक एबिसी नीलो र एक्स वारियरको खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समय गोलरहित टुंगिएको थियो । पेनाल्टी सुटआउटमा एक्स वारियरले ३–२ गोल अन्तरले पराजित गर्दै जित आत्मसात गर्‍यो ।

एबिसीका लागि सचिन गुरुङ र जय थापाको पेनाल्टी गोल हुँदा शैलेस गुरुङको प्रहारलाई एक्स वारियरका गोलरक्षक प्रविन्द्र गुरुङले बचाउ गरे । एक्स वारियरका लागि तेजबहादुर गुरुङ, भरत थापा र प्रविन्द्र गुरुङले हानेको पेनाल्टी गोलमा परिणत भएको थियो ।

एबिसीको पेनाल्टी बचाउ गरेका प्रविन्द्र खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा १२ टोली सहभागी छन् । विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ ।

उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउँदा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक एवं अमरसिंह ब्वाइज क्लबका अध्यक्ष राजेश गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका गठबन्धनका कास्की १ खका उम्मेदवार दीपक गुरुङले गरेका थिए । उदघाटन समारोहमा वडा नं १० का निवर्तमान वडाध्यक्ष राजकुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सल्लाहकार सुनील गुरुङ, कास्की जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष महेश गुरुङ लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिए ।

तपाईको प्रतिक्रिया