नसक्ने कुरा गर्दिनँ, योजनाबद्ध काम गर्छुः प्रकाश

पोखरा ।
नेपाली कांग्रेसका नेता एवं कास्की क्षेत्र नं. ३ (२) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धता पाँच वर्षमा पूरा गरेरै छाड्ने बताएका छन् । संयुक्त गठबन्धन निर्वाचन परिचालन समिति पोखरा ५ द्वारा आयोजित संयुक्त चुनावी भेलामा बरालले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले आफ्नो ध्यान सुशासनसहितको विकासमा केन्द्रित हुने भन्दै पोखरा ५ लाई कृषि पर्यटनसँग जोड्का लागि प्रयास गर्ने स्पष्ट पारे । पोखरा ५ कृषिका लागि उर्वर भूमि भएकाले कृषि पकेट क्षेत्र बनाउन सबै दलहका सरकारमा लबिङ गर्ने उनको प्रतिवद्धता छ ।
पोखरा महानगरभित्रै केही सडक अझै पनि धुलाम्मे अवस्थामै रहेको उल्लेख गर्दै उनले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाए । पोखरा फेवातालकै कारण पोखरा भएको उल्लेख गर्दै उनले तालको वैज्ञानिक तवरले संरक्षण र सौन्दर्यकरण गरिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सबै पोखरेलीलाई एकतावद्ध बनाएर फेवातालको समस्या समाधान गर्नुपर्छ । परिवर्तन र विकासमा सबैले साथ दिनुपर्छ ।’ प्रदेशको प्रभावकारिताका विषयमाथि प्रश्नचिन्ह खडा भएको भन्दै उम्मेदवार बरालले आगामी दिनमा जनतामा आशा जगाउनेगरि काम गर्ने विश्वास दिलाए ।
आफूले सरकारी जिम्मेवारीमा रहँदा पनि जनताको सेवा गरेको जनाउँदै उनले अहिले पनि जनताकै पीर, मर्का र भावना बुझेर काम गर्नकै लागि चुनावी मैदानमा होमिएको बताए ।
उनले भने, ‘जनताको मतको अपमान कहिल्यै पनि गर्दिनँ, इमान्दार भएर काम गर्नेछु, मत खेर जान दिन्नँ र आफ्नो प्रतिवद्धता पूरा अवश्य गर्नेछु ।’ कार्यक्रममा कास्की ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रामजीप्रसाद बराल जीवनले जनताका प्रत्येक दुःख सुखमा साथ दिने बताए ।
कास्की क्षेत्र नं. ३ संयुक्त गठवन्धन निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गठबन्धन देशको आवश्यकता भएकाले गठबन्धनका उम्मेद्वारलाई जिताउनैपर्ने तर्क गरे । एकीकृत समाजवादी पार्टीका नेता पुष्पराज बरालले उम्मेद्वारले जनताका समस्यामा ध्यान दिनु आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका वडा सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रकाश कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता पोषनाथ शर्मा, नेकपा एसका गण्डकी संयोजक प्रेम पौडेल, माओवादी केन्द्रका सचिव नवराज कोइराला लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया