यी उम्मेदवार, जसले आफैंलाई भोट हाल्ने छैनन्

समाधान संवाददाता २०७९ कार्तिक २० गते १०:१४

पोखरा ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अघिल्लो निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेनन् । सोहीअनुसार उनले मतदाता केन्द्र पनि परिवर्तन गरी बागलुङबाट रुपन्देही सारे । तर यसपालि गठबन्धनको साथ पाउँदा प्रत्यक्ष निर्वाचनमा जाने मनसाय बनाए ।

Advertisement

उनी अहिले बागलुङ १ बाट प्रत्यक्ष चुनावी मैदानमा छन् । तर आगामी निर्वाचनमा उनले आफैंलाई मत हाल्न पाउने छैनन् ।

गण्डकी प्रदेशमा केसीसहित मुख्य दलका १५ उम्मेदवारले आफैंलाई मत हाल्न पाउने देखिएको छ । आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रको चुनावी प्रतिस्पर्धामा गएका उनीहरुले आफैंलाई मत हाल्न पाउँदैनन् ।

स्थानीय तहमा जहाँको मतदाता हो त्यही पालिकामा, प्रदेशमा जुन प्रदेशमा मतदाता नामावली छ सोही प्रदेशमा र संघमा जहाँ मतदाता नामावली भए पनि देशैभर जहाँसुकैबा उम्मेदवार बन्न पाउने कानुनी व्यवस्था छ ।

एकातिरको मतदाता अर्कातिरको उम्मेदवार बनेकाहरुले आफैंलाई भोट दिन पाउँदैनन्

Advertisement


चित्रबहादुरजस्तै मत हाल्न नपाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि हुन् । चितवनका प्रचण्ड अहिले चुनाव लड्न गोरखा २ आइपुगेका छन् । यसअघि पनि विभिन्न निर्वाचन क्षेत्र सरिसकेका प्रचण्डले यो चुनावमा गोरखा रोजेका हुन् । प्रचण्डको प्रतिस्पर्धामा नेकपा एमालेका अब्दुस मियाँ छन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेल पनि यस निर्वाचनमा आफ्नो क्षेत्रबाट उम्मेदवार छैनन् । पौडेलको क्षेत्र बागलुङ १ हो, जहाँ जनमोर्चाका केसी उम्मेदवार छन् । बागलुङ नगरपालिका १२ अमलाचौरका पौडेल बागलुङ २ मा एमालेकी मञ्जु शर्मा चालिसेसँग भिड्ने छन् ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमाले सचिव पद्मा अर्यालको चुनावी भिडन्तलाई रोचकताका साथ हेरिएको छ । अर्जुनचौपारी गाउँपालिकाका स्थायी गुरुङ अहिले स्याङ्जा २ मा उम्मेदवार बनेकाले गुरुङले पनि आफैंलाई मत हाल्न पाउँदैनन् ।

तनहुँ २ बाट निर्वाचनमा होमिएका कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आफैंलाई मत हाल्न पाउने छैनन् । उनको क्षेत्र तनहुँ १ भए पनि सो क्षेत्रमा कांग्रेसकै नेता रामचन्द्र पौडेल उठ्ने भएपछि भण्डारी ठाउँ सरेर तनहुँ २ मा आएका हुन् । भण्डारीको प्रतिस्पर्धा यस पटकको निर्वाचनमा नेकपा एमालेका नेता किरण गुरुङसँग हुँदै छ ।

कास्की २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका श्रीनाथ बरालले पनि आफैंलाई मत हाल्न पाउने छैनन् । मतदाता नामावलीमा बरालको नाम कास्की १ मा छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका क्रममा कास्की १ नेपाली कांग्रेस र कास्की २ नेकपा एकीकृत समाजवादीको भाग परेको थियो । सोही अनुसार कास्की २ बाट अहिले बराल नेकपा एसबाट उम्मेदवार बनेका हुन् ।

कास्कीमा सत्ता गठबन्धनको तर्फबाट कास्की १ (१)मा उम्मेदवार बनेका दीपक कोइरालाले पनि अहिलेको चुनावमा आफूलाई मत हाल्न पाउँदैनन् । कास्की १ (२) का स्थायी कोइराला अहिले १(१) मा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीसँग चुनाव लड्दैछन् ।

नेपाली कांग्रेसबाट गण्डकी प्रदेशका आगामी मुख्यमन्त्रीका रुपमा हेरिएका सुरेन्द्रराज पाण्डेले पनि आफैंलाई मत भने हाल्न पाउने छैनन् । गोरखा २ (१) का पाण्डे यो निर्वाचनमा गोरखा २ (२) बाट उम्मेदवार बनेका छन् । पाण्डेको चुनावी भिडन्त नेकपा एमालेका वसन्त गुरुङसँग हुनेछ ।

स्याङ्जा २ (१) का उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामचन्द्र भट्टराई, बागलुङ २ (१) मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका जित शेरचन, नेकपा एसबाट नवलपुर २ (२) मा उठेका गोपाल खनालले पनि आफैंलाई मत हाल्न पाउने छैनन् । तनहुँमा माओवादी नेता तथा गण्डकी प्रदेशका पूर्व कानुन मन्त्री हरिबहादुर चुमानसँग प्रतिस्पर्धामा उत्रिएका नेकपा एमालेका पूर्ण गुरुङ पनि आफैंलाई मत हाल्न नपाउने उम्मेदवार हुन् । उनीहरु तनहुँ १ (२) उम्मेदवार हुन् ।

कास्की ३ (१) मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका दुर्गादत्त भण्डारी पनि आफैंलाई मत हाल्न नपाउने उम्मेदवारमध्ये एक हुन् । भण्डारीको चुनावी प्रतिस्पर्धी नेकपा एमालेका गणेशमान गुरुङ हुन् । कास्की ३ (२) का स्थायी बासिन्दा भण्डारीले ३ (२) मै चुनाव लड्न नपाएपछि ३ (१) लागेका हुन् ।

कास्की ३ (२) मा नेपाली कांग्रेसका प्रकाश बराल उम्मेदवार बनेका छन् । माओवादीबाटै कास्की २ (१) मा उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेले पनि आफैंलाई मत हाल्न पाउँदैनन् । माओवादीबाट गोरखा १ (१) मा उठेका कृष्णप्रसाद धितालले पनि क्षेत्र सरेका छन् । गोरखा १ (२) का स्थायी धिताल सत्ता गठबन्धनबाट चुनाव लड्न १ (१) मा गएका हुन् ।

‘पार्टीले भनेपछि उठ्नुपर्छ’
आफैंलाई मत हाल्न नपाउने उम्मेदवारहरुको एकै स्वर छ– पार्टीले उठ् भनेपछि उठ्नुपर्छ । तनहुँ २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारी लोकतन्त्रमा एक मतले पनि अन्तर पार्ने भएता पनि पार्टीले उठ्न भनेपछि जहाँ पनि उठ्न तयार हुनुपर्ने बताउँछन् ।

आफैंलाई मत हाल्न नपाउँदैमा चुनावै लड्दिनँ भन्नु तार्किक नहुने उनले जोडे । ‘जुन क्षेत्रको भए पनि पार्टी संगठन, कार्यकर्ता र आम जनताले मत हालेर जित्ने हो र मैले जित्छु भन्ने लाग्छ,’ उनले भने, ‘पार्टीले उठ् भनेपछि उठ्नै पर्छ ।’

कास्की २ मा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल जुन क्षेत्र भए पनि पार्टी संगठन र उम्मेदवारको योगदानले जित्ने भएकाले क्षेत्र हेर्न नहुने बताउँछन् । आफ्नो उदाहरण दिँदै उनले भने, ‘मैले राजनीतिक रुपमा कास्की १ मा जत्तिकै काम कास्की २ मा गरेको छु । यहीँबाट आन्दोलन गरेको छु, पक्राउ परेको छु । यही ठाउँ बुझेको छु, जुनै क्षेत्र भए पनि आफ्नो योगदानले जित्ने हो ।’

तपाईको प्रतिक्रिया