कास्कीमा निर्वाचन सामग्री सर्टिङ हुँदै

समाधान संवाददाता २०७९ कार्तिक २० गते १०:२४

कास्की ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कास्कीमा तयारी तीव्र बनाएको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा निर्वाचन सामग्री जिल्लामा आइसकेको प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेशले जनाएको छ ।

Advertisement

पोखरामा आएको सामग्रीबाट मतपत्र मिलाउने र सर्टिङ गर्ने काम भइरहेको प्रदेश निर्वाचन कार्यालय, गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए । ‘निर्वाचन आयोगबाट मतपत्र ढुवानी गर्ने काम गरिरहेको छ ।

जसअन्तर्गत कास्कीमा निर्वाचन सामग्री आइसकेको छ,’ उनले भने, ‘निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र मिलाउने र सर्टिङ गर्ने काम भइरहेको छ भने प्रदेश कार्यालयबाट सामान सुरक्षित गर्ने काम भइरहेको छ ।’ मतदान अधिकृत नियुक्ति भइसकेपछि जिल्लाका एक सय ५० मतदान केन्द्रमा पुर्‍याउने उनले बताए ।

कार्यालयले जनशक्ति व्यवस्थापनको काम पनि अघि बढाइरहेको उनले जानकारी दिए । ‘प्रदेश निर्वाचन कार्यालयले सम्पूर्ण शिक्षक कर्मचारीको विवरण तयार गरी निर्वाचन अधिकृतको कार्यालयलाई बुझाइसकेको छ,’ उनले भने, ‘मतदान अधिकृतहरू यही २१/२२ गतेतिर नियुक्ति हुनुहुन्छ । उहाँहरूको तालिम सकिएपछि पोखराको कार्यालयमा आएको सामग्री लिएर खटाइएको केन्द्रमा जानुहुन्छ ।’

आगामी मंसिर १ गते नै मतदान अधिकृतसँगै सामग्री मतदान केन्द्रमा पुग्ने उनले जानकारी दिए । कास्कीसहित गण्डकी प्रदेशका केही जिल्लामा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिँदै छिट्टै ११ वटै जिल्लामा सामान पुग्ने उनले बताए । निर्वाचनमा ७० किसिमका सामग्री प्रयोगमा आउने भएका छन् । स्थानीय तहमा जस्तै यो चुनावमा पनि मास्क र स्यानिटाइजर थप भएका छन् । आयोगको सूचीमा मतपत्र र मतपेटिकासँग समान्यभन्दा सामान्यदेखि महत्वपूर्ण सामग्रीलाई समेटिएको छ ।

Advertisement

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन तयारी तीव्र बनाउने क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भाएको र उजुरी परेको उनले बताए । कार्यालयमा परेका उजुरी उपर कारबाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

निर्वाचनमा सुरक्षा प्रयोजनका लागि कास्कीमा एक हजार पाँच सय ९६ म्यादी प्रहरी परिचालन गरिने भएको छ । हाल भर्ती भएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिनेछ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकासहित जिल्लाका चार गाउँपालिकामा उक्त संख्यामा म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइने भएको हो ।

म्यादी प्रहरीलाई आवश्यक तालिम दिइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । कास्कीमा भर्ना भएका म्यादी प्रहरीलाई शुक्रबारदेखि नै कार्यक्षेत्रमा खटाइएको प्रनाउ तिवारीले जानकारी दिए ।

‘उनीहरूलाई तालिम दिने काम सकिएको छ पोसाक लिएर उनीहरू कार्यक्षेत्रमा खटिइसकेका छन्,’ उनले भने, ‘म्यादी प्रहरीहरूको काम असोज ३० गतेदखि नै सुरु भएको हो । उनीहरूको काम निर्वाचन सकिएको चार/पाँच दिनसम्म हुन्छ ।’

तपाईको प्रतिक्रिया