मर्दी पदयात्रा व्यवस्थित गर्ने वाचा

पोखरा ।
कास्कीको मर्दी हिमाल पदयात्रा विश्वमा नै प्रख्यात छ । मर्दीमा केही वर्षदेखि यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण छ । तर मर्दी पदयात्रा व्यवस्थित हुन सकेको छैन । पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत लगायतका समस्या छन् । होटल खुल्ने क्रम बढे पनि व्यवस्थित छैनन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सिदिङका प्रज्वल क्षेत्रीले बर्सेनी हजारौं पर्यटक आउने मर्दी पदयात्रालाई व्यवस्थित गर्नेतर्फ ध्यान नपुगेको बताए । सिदिङमा चुनावी अभियानमा आइतबार पुगेका सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार रामजी बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उनले मर्दी क्षेत्रका समस्या सुनाए ।
उनीहरुले भने, ‘मर्दी पदयात्रामा समस्या नै समस्या छन् । केन्द्रीय विद्युत अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ । सरकारले व्यवस्थित गर्दै पर्यटकलाई सुविधा दिनु पर्दछ ।’ उम्मेदवार बरालले मर्दीका समस्या समाधानमा आफूले सघाउने वाचा गरे । दुई पालिकाको सीमा विवाद, पर्यटकीय पूर्वाधार निर्माण लगायतमा आफूले ध्यान दिने बरालले प्रतिवद्धता गरे ।
उनले भने, ‘यस क्षेत्रका जनताको समृद्धिको मुख्य आधार नै पर्यटन हो । मर्दी हिमाल, माछापुच्छ्रे मोडल ट्रेक लगायतका पर्यटकीय पदयात्रालाई व्यवस्थित विकास गर्न मेरो ध्यान पुगेकै छ । केही थालनी पनि भएका छन्, यसलाई विकास गर्न हामी सम्पूर्ण रुपले लाग्छौँ ।’
प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीले प्रकृतिले दिएको अनुपम उपहारको व्यवस्थित र दिगो विकास गरी धनी बन्न सकिने जनाए । उनले मर्दीमा जति धेरै पर्यटक भित्राउन सकिन्छ, त्यति नै समृद्धि हासिल हुने उनको भनइ छ । भण्डारीले ल्वाङ, घलेल, कालीमाटी, सिदिङ लगायतका क्षेत्रलाई मर्दी र माछापुच्छ्रे पदयात्रासँग जोडेर विकास गर्ने आफ्नो योजना रहेको सुनाए ।
जिम्मेवारीमा फर्किए माधवशरण
कास्की ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन केही महिनादेखि माओवादीमा जिम्मवारीमा नरहेका नेता तथा कार्यकर्ता जिम्मेवारीमा फर्किएका छन् । पोखरा २५ हेमजाको एक समूह माओवादी केन्द्रमै क्रियाशील हुने गरी फर्किएको माधवशरण पौडेलले बताए ।
कास्की ३ का उम्मेदवार रामजीप्रसाद बरालले यसअघि निर्वाचनमा जनतासामु गरेको वाचा पूरा गरी पुनः प्रतिनिधि सभा सदस्यमा उठेकोले उनलाई विजयी गराउने अभियानमा आफूहरु समेत पुरानै मुल पार्टीमा फर्किएको उनले जनाए । सोमबार हेमजामा आयोजित पाँच दलीय गठबन्धनको प्रशिक्षणमा माधवशरणले नेपालको समृद्धि र आशा सत्ता गठबन्धनबाट मात्र गर्न सकिने बताए ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले यसपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनका उमेदवारलाई जिताउन आग्रह गर्दै जितपछि पनि निरन्तर रुपमा उमेदवारहरु जनताको घरदैलोमा पठाउने प्रतिवद्धता गरे । गठबन्धनको नेतृत्वमा बन्ने ५ वर्षे सरकारले देशमा आर्थिक विकास र समृद्धिको ढोका खुल्ने उनको दाबी गरे ।
उम्मेदवार बरालले प्रदेश सभामा जसरी नै संघमा यो क्षेत्रको विकास र कानुन, नीति निर्माणमा लाग्ने प्रतिवद्धता गरे । कास्की ३ (१) का उम्मेदवार दुर्गादक्त भण्डारीले जनताले काम गर्ने र प्रतिवद्धता गरी भाग्नेबीचको विभेद छुट्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका तमबहादुर रोक्का, एकीकृत समाजवादीका असीम गुरुङ, कांग्रेस नेता प्रकाशचन्द्र सापकोटा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया