सम्पादकीयः बालबालिकालाई चितुवाबाट जोगाऔं

समाधान संवाददाता २०७९ कार्तिक २२ गते १२:०२

तनहुँको व्यास नगरपालिका १२ छिर्कनेमा गत मंगलबार चितुवाले ८ वर्षीय अभिनव कुँवरलाई घरनजिकै आक्रमण गरी लग्यो । हल्लीखल्लीपछि चितुवाले बालकलाई गोठबाट १ सय मिटर पर लगेर छाडिदियो । त्यस बेलासम्म बालकको ज्यान गइसकेको थियो । अबोध बालकले चितुवाको आक्रमणबाट ज्यान गुमाउनु पर्‍यो ।

तनहुँमा ०७४ यता यसैगरी चितुवाको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । त्यसमा अधिकांश बालबालिका छन् । अधिकांश घटना हेर्ने हो भने नरभक्षी चितुवाले गाउँबस्तीमा नै पसेर आक्रमण गरेको छ ।

गणना गर्ने प्रविधिको विकास नहुँदा चितुवाको संख्या के कति छ, त्यसको यकिनसमेत हुन सकेको छैन । चितुवा बस्ती पस्ने क्रम बढ्दो छ । वन्यजन्तुको वासस्थान विनाश, खानेकुराको अभाव, वन क्षेत्रमा मानवीय चाप लगायत कारण चितुवा गाउँ पसेको हो ।

Advertisement

धेरै जसो सामुदायिक वनमा भएका घाँसे मैदान बाँकी छैनन्, सबै जंगल भएका छन् । जसले गर्दा चितुवा बस्ती छिर्न प्रेरित भएको देखिन्छ । चितुवा किन बस्ती छिर्‍यो भन्ने विषयमा वैज्ञानिक अध्ययनसमेत भएको देखिँदैन । बारम्बार चितुवाले आतंक मच्याउँदा पनि सरोकारवाला गम्भीर भएको देखिँदैन ।

बढ्दो चितुवा आक्रमण नियन्त्रण गर्न कुनै प्रयास नै नभएका भने होइनन् । मानवमा निरन्तर आक्रमण हुन थालेपछि आक्रमण नियन्त्रणका लागि विभिन्न प्रयास भएका छन् तर सबै विफल भएका छन् । नियन्त्रण गर्ने प्रक्रिया आधुनिक र प्रावकारी बनेनन् । उक्त क्षेत्रमा चितुवाको संख्या के कति छ भन्ने यकिन तथ्यांक सम्बन्धित निकायमा छैन । जसले गर्दा चितुवा आक्रमण नियन्त्रण थप चुनौतीपूर्ण बन्दै गएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय तनहुँले चितुवा नियन्त्रणका लागि गरेका सबै प्रयास विफल भएपछि नरभक्षी चितुवा मार्न निर्देशन दिएको छ । सोही बमोजिम चितुवाको खोजी गरी मार्ने प्रक्रियामा सुरु भएको छ । यसो त यो उचित र व्यवहारिक उपाय होइन । कुनै उपाय नभेटिँदा आकस्मिक रुपमा अपनाइने कामचलाउ उपाय मात्र हो ।

अहिलेको युगमा चितुवालाई नियन्त्रण गर्न सकिएन भनी मार्नु लाजमर्दाे विषय हो । चितुवा प्रभावित क्षेत्र प्रस्तावित प्रकृतिक चिडियाखाना नै हो । प्राकृतिक चिडियाखानालाई चाडै सुरुआत गर्ने र चितुवालाई बस्तीमा नआउने वातावरण तयार गर्ने उत्तम उपाय हुन सक्छ । तर यहाँको प्रकृतिक उद्यान तयारीको काम पनि सुस्त छ ।

दीर्घकालीन रुपमा यो समस्याको हल गर्न चितुवाको प्राकृतिक आहारा संरक्षण गर्नुपर्छ । चितुवालाई चाहिने खाना, पानी र रेस्ट गर्ने ठाउँ जंगल संरक्षण गरिनुपर्छ, जसले चितुवा आक्रमणका घटनामा घटाउँछ । सँगसँगै चितुवाको आक्रमण, सुरक्षित हुने उपायबारे जनचेतना पनि बढाउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया