मत फेर्नुस्, हामी अवस्था फेर्छौं: लामिछाने

पोखरा ।
कास्की २ (१) मा पाँच दलीय गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले संविधान कार्यान्वयन र विकासका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिका २१ मा सञ्चालित चुनावी अभियानका क्रममा मतदातासँग उनले यस्तो बताएका हुन् ।
आफू भ्रष्टाचार बिरुद्ध अभियान चलाएको मान्छे भएकाले अहिलेसम्मको छवि सधै कायम राख्ने प्रतिवद्धता गरे । उनले भने, ‘विगतको नेतृत्वले तपाईहरुको अवस्था उस्तै रह्यो । यसपालि मत फेर्नाेस्, हामी तपाईहरुको अवस्था फेर्छाैं । समृद्धिको सपना साकार पार्छाैं ।’
सत्ता गठबन्धनबाट कास्की २ का उम्मेदवार श्रीनाथ बरालले नेकपा एमालेले संविधान कार्यान्वयन गर्नुभन्दा भ्रष्टाचार बढाउन र संसद विघटनमा अर्जुनदृष्टि लगाउँदा लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने अवस्था आएको बताए ।
देशलाई अप्ठ्यारो पर्दा कम्युनिस्ट र काँग्रेस मिल्ने नेपाली राजनीतिको विशिष्ट विषेशता रहेको भन्दै उनले आफूलाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए । ‘जित भए पनि नभए पनि सधैं जनताको घरमा हुनेछु । विकास, निर्माण र नीति निर्माणमा पौरवी गरिरहन्छु,’ उनले भने ।
कांग्रेसकी समानुपातिक उम्मेदवार वृन्दादेवी रानाले महानगर नै भए पनि यो क्षेत्र पिछडिएकाले योजनावद्ध विकास गर्ने प्रतिवद्धता गरिन् । माओवादी केन्द्र गण्डकी प्रदेश सल्लाहकार निर्मलबहादुर अधिकारी उम्मेदवारले जनाउने प्रतिवद्वता विजयपछि कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि देवराज चालिसे नेताले देखिने गरी काम गर्नुपर्ने जनाउँदै अब कुरा गरेरमात्र नहुने उल्लेख गरे । उनले भने, ‘जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्नुपर्छ । यसो गर्न गठबन्धनको सरकार जरुरी हुन्छ ।’
नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष खड्ग हमालले एमालेले देशलाई बर्वादीको बाटोमा लैजान खोज्दा गठबन्धन बनेको जनाउँदै यो लामो समय जानुपर्नेमा जोड दिए । ठूलीस्वाँरा टोल विकास संस्थाका बलबहादुर आले राम्राे बाटो, खानेपानीको सुविधा पनि सहज नभएको बताए ।
स्थानीय दधिसरा रानाले राजनीतिक दलका गतिविधिले पछिल्लो समय निराशा बढेको जनाउँदै त्यसलाई चिर्ने गरी काम गर्न सुझाव दिइन् । अर्का स्थानीय चन्द्रबहादुर थापाले योजना पाउन र पाइहाले पनि निकासा लिन सकस भएको अनुभव सुनाए ।
एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार सारदाप्रसाद सुवेदी र दिलकुमारी पन्तले गठबन्धनका उम्मेदवारको जित निश्चत भएको दाबी गरे । अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेस पराजुलीले संविधान बचाउन काँग्रेस र कम्युनिस्ट एक भएको बताए । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विजयराज आचार्यले देशको भविष्यका लागि गठबन्धनको आवश्यकता रहेको बताए ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी कास्की अध्यक्ष देवीमाया अधिकारी, एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य दाताराम आचार्य लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया