हामीले बनाएको पुलमा अरुको राजनीतिः दीपक

समाधान संवाददाता २०७९ कार्तिक २३ गते ११:०५

पोखरा ।
नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की १ (१) बाट ५ दलीय गठबन्धनका उम्मेदवार दीपक कोइरालाले आफ्नो पहलमा बनेको विकास संरचनामाथि राजनीति नगर्न र भ्रम नछर्न विपक्षी गठबन्धनलाई आग्रह गरेका छन् ।

विपक्षी गठबन्धनका केही व्यक्तिले रुपातालमाथि बनेको झोलुंगे पुल आफ्रले बनाएको भनेर भ्रम छर्ने गरेको भन्दै उनले विकासका काममा राजनीति नगर्न आग्रह गरेका हुन् । उनले यस्तो फोहोरी राजनीतिले कसैलाई पनि फाइदा नहुने उल्लेख गरे ।

निर्वाचन अभियान अन्तर्गत पोखरा ३१ का विभिन्न स्थानमा आयोजित कोण सभामा उनले यस्तो आग्रह गरेका हुन् । पोखरा ३१ मुख्य रुपमा पर्यटकीय क्षेत्र नै भएकाले यहाँको विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण हुनुपर्नेमा उनले जोड दिए । गठबन्धनको चुनावी सभा पोखरा ३१ को लामास्वाँरा, सुन्दरबस्ती, वेगनासको मैदान, लौसीडाँडा, खोलाबेंशी, सिमलडाँडा लगायतका स्थानमा भएको थियो ।

Advertisement

यस क्षेत्रमा प्रशस्त पर्यटकीय क्षेत्र भएको उल्लेख गर्दै कोइरालाले पर्यटकीय पूर्वाधार निर्माणले यहाँको रोजगारी पनि सिर्जना हुने बताए । ‘स्थानीय रोजगारी सिर्जना गर्न पनि पूर्वाधारहरु बन्नुपर्छ, स्थानीय रोजगारीले यहाँका आर्थिक क्षेत्र पनि चलायमान हुन्छ,’ उनको भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले व्यवस्थाको रक्षा र देशको विकासका लागि ५ दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए । अबको समय विकास र सम्बृद्धिको भएको भन्दै उनले फेरि पनि व्यवस्था जोगाउनका लागि आन्दोलन गर्न नपर्ने बनाउन गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

Advertisement

कांग्रेसका सहमहामन्त्री जीवन परियारले निर्वाचनलाई हल्का रुपमा नलिन कार्यकर्तालाई निर्देशन दिए । यो निर्वाचन जित्ने र हार्नेभन्दा पनि व्यवस्था मास्ने कि जोगाउने भन्ने जनमत भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया