उम्मेदवार घरदैलाेमा, मतदाता खेतबारीमा

रिखिराम जिसी २०७९ कार्तिक २४ गते १०:२६

पोखरा ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार मतदाता रिझाउन घरदैलोमा छन् । उम्मेदवार घरदैलोमा पुग्दा मतदाता भने घरमा देखिँदैनन् ।

मतदाता आफूले उब्जाएको बाली भित्र्याउने चटारोमा खेतबारीतिर व्यस्त छन् । मतदाता रिझाउन केही उम्मेदवार त घरमा चिठी छोडेर फर्किएका छन् भने केही उम्मेदवार खेतबारीतिरै पुग्ने गरेका छन् । घरदैलोमा भेटिएका मतदातामा पनि त्यस्तो चुनावी रौनक देखिँदैन । त्यसको कारण हो वर्तमान राजनीतिक नेतृत्वप्रतिको वितृष्णा ।

चुनाव आउनै लाग्दा उम्मेदवारलाई मत माग्ने चटारो छ तर मतदातामा उत्साहभन्दा बढी आक्रोश देखिन्छ

Advertisement

चुवानी घरदैलोमा या खेतबारीमा भेटिने मतदाताले मत माग्नेहरु प्रति धेरैजसो आक्रोश नै व्यक्त गर्ने गरेको देखिन्छ । पोखरा १३ काहुँखोलामा बुधबार खेतबारीमा काम गरिरहेकी श्यामा बरालको आक्रोश पुराना नेतामाथि नै छ ।

६० वर्ष पुगेकी श्यामा कयौं पटक मतदानमा सहभागी भइसकेकी छन् । तर यसपालि पुराना नेताका कारण निर्वाचनमा सहभागी हुन जाँगर नभएको उनको संकेत छ । पुराना नेतालाई संकेत गर्दै श्यामाले भनिन्, ‘यिनीहरुलाई पाखा नगलाइकिन मलार्ई भोट दिन पनि जागर छैन ।’

Advertisement

उच्च ओहोदामा पुगेका र पटक पटक परीक्षण भएका नेताले केही नगरेकोमा उनको आक्रोश छ । राजनीतिमा पुराना नेतालाई पाखा लगाउनुपर्नेमा उनले पटक पटक जोड दिइन् । उनी भन्छिन्, ‘न त तिनीहरुसँग बहस भाको छ, न त जम्काभेट भाछ । तर अघिका पुराना नेतालाई पाखा नगलाइकिन हामीलाई भोट दिन पनि जागर छैन । हामीले एउटा भोट दिनै पर्छ तर जागर छैन ।’

नेताहरुकै कारण जनता पिँजडामा रहेको श्यामाले दाबी गरिन् । ‘हामीलाई संकट थियो । हामी एकदमै पिंजडामा थियौ । तिनै नेताहरुका कारणले गर्दा हो,’ उनले भनिन् । आफ्नो उमेरका नेताहरु पनि कुनै गतिला नभएको उनको आरोप थियो । ‘आफूसँगका ब्याजका नेताहरु देख्दा मन लागेन, कुनै पनि गतिला छैनन्,’ उनले भनिन् ।

माओवादी कालमा पाएको दुःखको याद उनीसँग ताजै छ । माओवादीका पालामा खान लागेको गास पनि खान नदिएको श्यामा सम्झिन्छिन् । ‘माओवादीका पालामा एउटा थोत्रो लुगा भएको बाकस पनि खोले । हामीलाई खान लागेको गास खान दिएनन् । एक माना पकाएका हुन्थ्यौं भने तिनिहरुले खान्थे । हामी भोक्कै बसियो त्यो कालमा, त्यस्तो गरेर हामीले दियौं,’ उनी भन्छिन् ।

माओवादीको समयमा दुखसुखले एक छाक नखाईकन सहयोग गरेको श्यामा बताउँछिन् । ‘त्यति बेला हामी किसानी थियौं र हाम्ले दुख सुखले एक छाक नखाईकन यै मोरालाई दिम भनेर पेट बाधेर, पोड्का कसेर उभिएका हौं,’ उनले भनिन् ।

नेताहरुले जनताको दुख नदेखी भष्ट्रचार गरेको श्यामाको आरोप छ । ‘हामी दुःख गरेर खानी हो । आफ्नो खेती किसान, नाम्लो दाम्लो कुटो कोदालो गरेर खान्छम् । यिनलाई कहिल्यै पनि दुःख भयो, भन्दैनन्,’ उनले भनिन्, ‘भष्ट्रचार गर्निले ग्याम्म लाख, करोड खान्छन् ।’

यसो त उनीमात्रै नेताबाट असन्तुष्ट होइनन् । तेजकुमारी विश्वकर्मा पनि नेताहरुले केही नगरेकाले चुवानमा सहभागी हुने अनिच्छुक छिन् । चुनाव नजिकिएसँगै उम्मेदवार घरदैलो गर्दा मतदाता भने खुसी देखिँदैनन् ।

श्यामा र तेजकुमारी जस्तै अधिकांश मतदाता राजनीतिक दल र उम्मेदवारप्रति असन्तुष्ट छन् नै चुनाव र मतदानप्रति पनि आकर्षित छैनन् । उक्त क्षेत्रमा प्रदेश सभातर्फ पुरानै उम्मेदवार चुनावी मैदानमा छन् । पुरानै उम्मेदवार, पटक पटक परीक्षण भएका उम्मेदवार चुनावी माहोलमा होमिदा मतदातामा भने कुनै उत्साह छैन ।

काहुँखोला क्षेत्र प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर १ र प्रदेश सभातर्फ (२) मा पर्छ । यहाँ मुख्य राजनीतिक दलहरुका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । प्रतिनिधि सभातर्फ एमालेबाट मनबहादुर गुरुङ र गठबन्धनबाट कांग्रेसका किशोरदत्त बरालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रदेश सभातर्फ एमालेका वेदबहादुर गुरुङ र गठबन्धनबाट माओवादी केन्द्रका दीपक गुरुङ मुख्य प्रतिश्पर्धी छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया