‘बाबुरामसँग सम्बन्ध सकियो’
पदमुक्त भएपछि उनले डा बाबुराम भट्टराई चुनौती दिँदै वैकल्पिक शक्ति बनाएर अर्काे चुनावमा पुरानै क्षेत्रबाट चुनिने प्रतिज्ञा गरेका छन्


सञ्जय रानाभाट, पोखरा ।
मंगलबार बर्खास्तीमा परेका गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले डा बाबुराम भट्टराईसँग राजनीतिक र व्यक्तिगत सम्बन्ध सकिएको बताएका छन् । बुधबार बिहान ऊर्जा मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै आचार्यले भट्टराईको कडा आलोचना गरे ।
आचार्यले बाबुराम अब राजनीतिक प्राणी नभएकाले नयाँ वैकल्पिक यात्रा थाल्ने बताएका छन् । उनले भट्टराईसँग व्यक्तिगत र राजनीतिक दुवै सम्बन्ध सकिएको उद्घोष गरे । ‘उहाँसँग मेरो व्यक्तिगत र राजनीतिक सम्बन्ध सकियो । हामी एउटै पालिकाको मान्छे, छिमेकीको सम्बन्ध बाँकी रहन्छ,’ आचार्यले भने ।
अहिलेसम्म राजनीतिक यात्रा सोझो भए पनि अब घुमाउरो बाटो हिँड्नुपरेको आचार्यले बताए । ‘हिजोको राजनीतिक यात्रा सोझो थियो । अब घुमाउरो हुने भयो । यतिमात्र हो । अझै युवा जसरी २०–२५ वर्ष राजनीति गर्न सक्छु । पाँच वर्ष मेहेनत गरे यही ठाउँमा आउँछु,’ आचार्यले भने ।
बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार गरेको प्रमाण दिन सक्छु भनेर भट्टराईले सार्वजनिक कार्यक्रममा बोलेको र फेरि गोरखाबाट आफूले प्रचण्डलाई जिताउन ल्याएपछि पार्टीभित्र आलोचना गरेको उनले सुनाए ।
आचार्यले प्रचण्डलाई असहयोग गरेको भन्दै गण्डकीका मुख्यमन्त्रीले मंगलबार मन्त्री पदबाट बर्खास्त गरेका थिए । आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले नै फोन गरेका थिए ।
आसन्न निर्वाचनमा आचार्यले प्रदेश सभा सदस्यका लागि गोरखा २ (१) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । उनले नेपाल समाजवादीका उम्मेदवार फणीन्द्र देवकोटाविरुद्ध बागी उम्मेदवारी दिएका थिए । पछि उनले उम्मेदवारी फिर्ता लिएका थिए ।
उम्मेदवारी फिर्ता लिएपछि आचार्यले आफूलाई स्वतन्त्र बताउँदै आएका छन् । तर, बागी फिर्ता लिए पनि गोरखामा प्रतिनिधि सभा उम्मेदवार प्रचण्डलाई असहयोग गरेको सुइँको सत्ता गठबन्धनले पाएको थियो ।
आचार्य यस पटक सोही क्षेत्रबाट नेपाल समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहन्थे । तर बाबुराम भट्टराईले आफ्ना विश्वासपात्र फणीन्द्र देवकोटालाई माओवादीको चुनाव चिन्हबाट उम्मेदवार बनाएपछि आचार्य रुष्ट थिए ।
उनले बुधबार पत्रकार सम्मेलन गरी बाबुरामकै कारणले आफ्नो मन्त्री पद गएको संकेत गरे । ‘भट्टराईले जसरी ९ अर्ब रुपैयाँ केपी ओली, शेरबहादुर देउवा र प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार गरेको प्रमाण मसँग छ भन्नुभयो ।
फेरि महान् मान्छे भनेर गोरखाली जनताको जनमतलाई बेचेर चुनाव जिताउन ल्याउनुभयो,’ उनले भने, ‘मैले त्यो कुराको आलोचना प्रस्ट रूपमा गरेको थिएँ । नैतिक रूपले प्रचण्डलाई भोट माग्दिनँ र विरुद्धमा पनि लाग्दिनँ भनेको थिएँ । उहाँले यो कुरालाई कसरी बुझ्नुभयो र यो परिस्थिति यस्तो बन्यो ।’
आचार्यले अब आफूले प्रचण्डको विरुद्धमा खुलेर मत माग्ने उद्घोष गरे । ‘अब उहाँको खुलेर विरोध गर्छु । त्यो घाटा गठबन्धनलाई हुन्छ । बरु यतिकै एउटा साङ्लोले बाँधेर राखेको भए उहाँहरूलाई फाइदा हुन्थ्यो,’ उनले भने, ‘अब यसको प्रतिवाद गरेर जान्छु । गलत र मिथ्या कुरा गरेर हैन ।’
भट्टराईले दुख पर्दा साथ दिनेहरूलाई सही ढंगले ट्र्याकमा नराखेको आचार्यको आरोप छ । ‘वैकल्पिक शक्ति आज पनि अपरिहार्य छ र भोलि पनि आवश्यक छ । त्यो बाटो ठीक हो । तर उहाँले कहिले फोरमतिर, कहिले माओवादीतिर लगेर मिसाइदिनुभो,’ उनले भने, ‘भट्टराई आफू विचलित हुने अनि कारवाही गर्ने नाटक गर्नुभयो ।’
प्रचण्ड चितवन ३ र भट्टराईले गोरखा २ उठेको भए कार्यकर्तालाई सहज हुने आचार्यको भनाइ छ । उनले प्रचण्ड गोरखाको इतिहाससँग जोडिएर नभई हार्ने डरले गोरखा आइपुगेको सुनाए ।
‘कांग्रेसभन्दा कम्युनिस्ट ठीक, कम्युनिस्टभन्दा माओवादी ठिक, माओवादीभित्र पनि बाबुरामसँग आउँदा ठिक भनेर आएका थियौँ,’ आचार्यले भने, ‘तर, हिजो राजा, महाराजाले आफ्ना छोराछोरीलाई गद्दी हस्तान्तरण गरे जसरी प्रचण्डले छोरीलाई स्थापित गर्ने र अन्तिममा बाबुराम पनि छोरीलाई स्थापित गरेपछि यो प्रवृत्तिको मैले खुलेर विरोध गरेकै हो ।’
बाबुराम र प्रचण्डको पछिल्लो गतिविधि नयाँ संस्करणको राजतन्त्र भएको उनले बताए । ‘नाम पो राजतन्त्र जस्तो भएन, काम त त्यही राजतन्त्र जस्तो गर्नुभयो भन्ने स्पष्ट देखियो,’ आचार्यले भने । बाबुरामले खल्तीका मान्छेलाई उम्मेदवार बनाएको आचार्यको आरोप छ ।
‘बाबुराम भट्टराईसँग हिजो नयाँ शक्तिमा हुँदा साथ दिएका मान्छे छैनन् । नेतृत्वका टिमहरू रमेश पोखरेल, ज्ञानेन्द्र कुमाल र हरिशरण आचार्य आज कोही पनि साथमा छैन किनभने उहाँले खल्तीका मान्छेलाई च्याप्नुभयो,’ उनले भने ।
बाबुरामको मूल्य, मान्यता र सिद्धान्त सकिएकाले माओवादीमा आत्मसमर्पण गरेको आचार्यको आरोप छ । ‘उहाँको पछि लागेर अब केही हुँदैन भनेर नयाँ वैकल्पिक शक्ति गठन गर्छौँ । हिजो रातो स्टिकर लगाएको घर भन्ने आज त्यही घरमा जाने भन्ने कुरा राम्रो हुँदैन । उहाँले माओवादीमा गएर आत्मसमर्पण गर्नुभएको हो,’ आचार्यले भने ।
बाबुरामले आफूले नसकेपछि नयाँलाई छोड्न तयार नभई माओवादीमा आत्मसमर्पण गरेको आरोप उनको छ । ‘कुशल कमान्डरले साथीहरूलाई अगाडि बढाउने हो । हिजो वैद्यले छोडेर प्रचण्डले नेतृत्व गरेर माओवादी आन्दोलन अगाडि बढ्यो,’ आचार्यले भने, ‘तर, भट्टराईले दोस्रो पुस्तालाई हस्तान्तरण नगरी विचलित भएर माओवादीमा आत्मसमर्पण गर्नुभयो ।’ आफूलाई सुरुका दिनदेखि नै मन्त्री पदबाट बर्खास्त गर्न खोजिएको उनले दाबी गरे ।
आफू राजनीतिक व्यक्ति भएकाले बहिर्गमनलाई सहज रूपमा लिएको आचार्यले सुनाए । उनले स्वाभिमानपूर्वक मन्त्रालय आएकाले स्वामिमानपूर्वक छोड्ने चाहना हुँदाहुँदै बर्खास्तीको बाटो रोजिएको बताए । ‘अब करिब डेढ महिना बाँकी थियो । म स्वाभिमानपूर्वक अगाडि बढिरहेको थिएँ,’ उनले भने, ‘कुनै आधिकारिक पक्षले तपार्ईंलाई यो कारणले हटाइयो भनेको पनि खुलाउन सकेको छैन ।’
आचार्यले अबको आफ्नो बाटो नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने भएको बताए । ‘अर्को नयाँ धारसँग हामी छलफल गरिरहेका छौँ । हिजो वैकल्पिक शक्ति निर्माण गर्दाका साथीसँग छलफलमा छौँ,’ उनले भने, ‘लौरो अभियानका साथीहरुसँग पनि छलफल भइरहेको छ । देशभरी नयाँ रक्तसञ्चार गरेर वैकल्पिक धारको निर्माण गर्छौँ ।’

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया