जनताका समस्या सुन्दै अन्नपूर्णमा

पोखरा ।
पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिकामा बर्सेनी पर्यटनमैत्री कार्यक्रम ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले प्रतिवद्धता गरेका छन् । उनीहरुले पर्यटनका लागि मात्र वर्षेनी लाखौं रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले बुधवार अन्नपूर्ण गाउँपालिकाका स्थानीयसँगको भेटघाटमा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
यसअघि स्थानीयले अन्नपूर्ण गाउँपालिका पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रम ल्याउन एमाले उम्मेदवारद्वयसँग माग राखेका थिए ।
मंसिर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय पौडेल र पहारी घान्द्रुक, छोम्रोङ, दाङसिङ, सावेत, उल्लेरी लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताका कुरा सुनेका छन् ।
निवर्तमान सांसद पहारीले गएको कार्यकालमा नयाँपुल–घान्द्रुक पिच, विभिन्न ठाउँमा मोटरेबल बाटा घाटा खुलेका र ती बाटोको स्तरोन्नतिका लागि फेरि एमालेलाई जिताउन आग्रह गरे । पहारीले विभिन्न समूह, संघ, संस्था लगातयसँग सहकार्य गर्दै सामुदायिक भवन, मठ, मन्दिर निर्माण कार्य लगायतमा सहयोग गरेको स्मरण गरे ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेलले अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि र पर्यटनको समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने प्रतिवद्धता जनाए ।
तपाईको प्रतिक्रिया