रुपापछि वेगनासमा झोलुंगे पुलः कोइराला

पोखरा ।
साबिक लेखनाथ नगरपालिकामा ७ ताल छन् । सुन्दरीडाँडा नजिकैबाट अहिले रुपातालमाथि झोलुंगे पुल बनेको छ । तालमाथि बनेको पुल हेर्न पर्यटन आउन थालेको छन् । ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मदेवार दीपक कोइरालाले अब वेगनासमा पनि यस्तै झोलुंगे पुल बनाउने वाचा गरेका छन् ।
मंसिर ४ गते हुन लागेको निर्वाचन प्रचार प्रसारको क्रममा स्थानीय मतदातासँग भेटघाट गर्दै उनले रुपातालमा जस्तै वेगनासतालमा पनि पुल निर्माण गर्ने योजना सुनाए । ‘अहिलेको कार्यकालमा रुपातालमा पुल बनाइयो, अबको कार्यकालमा वेगनासमा बनाउने हो ,’ उनले भने ।
कोइरालाले वेगनासको पिप्लेबाट बराह मन्दिर जोड्ने पुल आफूनो योजनामा रहेको सुनाए । यो पुल निर्माण भए पनि वेगनासमा जलयात्रा पर्यटनको साथै धार्मिक पर्यटनको पनि विकास हुने विश्वास व्यक्त गरे ।
डाँडा, फाँट, ताल, सिमसार रहेको लेखनाथ क्षेत्र पोखरा महानगरमा गाभिए पनि विकासको गतिमा स्थानीय सन्तुष्ट छैन । उनीहरुले साबिक पोखराको छायाँमा परेको गुनासो गरिरहेका छन् । कोइराला पनि केही हदसम्म स्थानीयको गुनासोमा सहमत छन् ।
कोइराला सहरीकरणको बाटोमा अघि बढेको लेखनाथलाई योजनाबद्ध रुपले विकास गरी नमुना बनाउने प्रतिवद्धतासहित मैदानमा छन् । माओवादी केन्द्रका नेतासमेत रहेको कोइरालाले स्थानीय र संघ सरकारसँग सहकार्य गर्दै लेखानाथ क्षेत्रमा समृद्धिको जग निर्माण गर्ने वाचा गरे ।
बुधबार पोखरा ३१ का चौर, कालिमाटी, किमवेंसी, पिप्लेका मतदातालाई उनले चाडै लेखनाथ सुन्दर, प्राकृतिक छटासहितको नमुना क्षेत्र बन्ने विश्वास दिलाए । कोइराला भन्छन्, ‘अहिले सात ताल जोड्ने लिंक रोडको काम भइरहेको छ । यो पूरा गर्न प्रदेशको बजेटले मात्र धान्दैन, संघमा यसका लागि पहल गर्ने र स्थानीय तहसँग समन्वय गर्ने अगुवाइ हामी गर्ने छौं ।’
फेवा जत्तिकै सम्भावना भए पनि ओझेलमा परेको बेगनासलाई प्रवद्र्धन गर्न योजनावद्ध प्रयास गरिने उनले बताए । उनले भने, ‘बेगनासताल वरिपरि फुट ट्रयाक र साइकल ट्रयाक बनाउन जरुरी छ । यहाँको वराह मन्दिरलाई फेवाको तालबाराही मन्दिर जसरी नै प्रवद्र्धन र प्रचार गर्न सकिन्छ । यसका लागि विज्ञबाट अध्ययन गरी कामयावी योजना बनाउने छौं ।’
नेपाली कांग्रेसका सह महामन्त्री जीवन परियारले पटक पटक संविधान मिच्ने शक्ति हावी हुन खोजेको भन्दै त्यस्ता तत्वलाई अहिलेको निर्वाचनबाटै परास्त गर्नुपर्नेमा जोड दिए । पूर्वमन्त्री यज्ञबहादुर थापाले देश, प्रणाली, विधि र संविधानलाई संकट परेका बेला काँग्रेस र माओवादी सधैं मिल्ने गरेको सुनाए । अहिले पाँच दल एउटै डुंगामा भएकाले मतदानका बेला होस पुर्याउन आग्रह गरे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा समानुपातिक तर्फका उम्मेदवार झलकपाणि तिवारी, माओवादीका नेता कोमलनाथ बराल लगायतले प्रतिगामी शक्तिलाई परास्त गर्नका लागि गठबन्धनले जित्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया