आवाज सुनाउन सत्ता चाहिने रहेछ

प्रमिला कुँवर २०७९ कार्तिक २४ गते १३:१३

सामाजिक अभियन्ताका रुपमा सक्रिय शिरिष गुरुङ अहिले कास्की २ मा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार बनेकी छन् । लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेकी गुरुङसँग उनका एजेन्डा र चुनावी तयारीबारे गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

चुनावी प्रचारप्रसार कसरी भइरहेको छ ?
पोखरा १६ र ३३ का मतदातासँग भेटघाट भइसकेको छ । वडा नम्बर १६ मा सबैभन्दा बढी भोट आउने निश्चित नै छ । १५, ११ र २० नम्बर वडामा पनि चुनावी प्रचारका लागि गइसकेकी छु । सबै वडाबाट सकारात्मक प्रतिक्रिया पाएकी छु । उत्साहित छु ।

तपाईका एजेन्डा के के छन् ?
मेरो मुख्य एजेन्डा भनेको भ्रष्टाचार निर्मूल पार्नु हो । पदमा भएको मानिसले सम्बन्धित काममात्र गर्नुपर्छ । भ्रष्टाचार हटेमा मात्र देशको विकास हुन्छ । मैले पर्यटनलाई पनि जोड दिएकी छु । हामीले पर्यटनको महत्व बुझ्न सक्यौँ भने यसबाट अर्थतन्त्रमा ठूलो टेवा पुग्छ ।

Advertisement

कुनै पार्टीबाट प्रस्ताव नआएकाले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ?
म विद्यार्थी जीवनदेखि सामाजिक अभियन्ताका रुपमा क्रियाशील छु । एमसिसी खारेज हुनुपर्छ भनेर ५१ दिनसम्म एक्लै धर्ना दिएकी थिएँ । त्यो समयमा आफूलाई स्वतन्त्र भनेर चिनाउन सक्ने अवस्था थिएन, अहिले बल्ल स्वतन्त्र भन्न सजिलो छ । म एक्लै त्यसरी लाग्दा मेरो आवाज सम्बन्धित निकायसम्म पुग्न सकेन, मेरो आवाज सुनिएन । आवाज पुर्‍याउन कुनै आधार चाहिने रहेछ, त्यो आधार भनेको सत्ता हो । त्यसैले उम्मेदवारी दिएकी हुँ ।

पार्टीहरुबाट पहिलेदेखि नै बोलाइरहनु भएको थियो । मलाई सबै पार्टी मन पर्छ, पार्टी खराब होइनन् । त्यसमा भएका केही नेता खराब भएकाले पार्टीमा जान मन लागेन ।

Advertisement

प्रदेश आफैंमा आत्मनिर्भर हुन नसकेको भन्दै खारेजीको कुरा आइरहेको छ, यसमा तपाईंको के भनाइ छ ?
अब हामी प्रदेश खारेजी भन्दा पनि कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्नुुपर्छ । धेरै संघर्षपछि बल्ल संघीयता आएको हो । आज निर्णय गरेर भोलि नै नतिजा आउने पनि होइन । एक पटक जिम्मेवारी सम्हाल्ने मौका दिनुहोस्, त्यसपछि जिम्मेवारी सम्हाल्न असक्षम लागेमा खारेजीतर्फ लागौंला ।

निर्वाचित भएपछि कुन कुन क्षेत्र सुधार्न चाहनुहुन्छ ?
रोजगारीको क्षेत्रमा काम गर्नेछु, देशमै रोजगारीको अवसर सिर्जना गर्नेछु । हाम्रो शिक्षा नीति पनि परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ । पाठ्यपुस्तकमा व्यवसायिक तालिम पनि समावेश गर्नुपर्छ । विद्यालय स्तरदेखि नै विद्यार्थीलाई जीवनउपयोगी सीप सिकाउनु आवश्यक छ ।

मतदातालाई के भन्न चाहनुहुन्छ ?
मत दिँदा सोच्नुहोला, मत खेर नजाओस्, सक्षम व्यक्तिलाई दिनुहोला । अहिलेका नयाँ पुस्ताले मलाई राजनीति मन पर्दैन, मलाई रुचि छैन भन्नुहुन्छ । राजनीतिबाट टाढा बसेर यो भएन, त्यो भएन, नेताले यस्तो गर्‍यो त्यस्तो गर्‍यो भनेर हुँदैन । आफूले बुझ्न आवश्यक छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया