पोखराबाट लेखनाथ छुट्याउनुपर्छ: श्रीनाथ

समाधान संवाददाता २०७९ कार्तिक २४ गते १७:४१

पोखरा ।
राज्य पुनसंरचना गर्दा कास्कीमा ५ वटा स्थानीय मात्र तह छन् । जनताको घरदैलोमा सेवा पुर्‍याउने भन्दै गरिएको पुनसंरचनाको क्रममा स्थानीय तह कम हुँदा र ठूला बनाउँदा घरदैलोको छेउमा भन्दापनि सेवा लिन झन टाढा धाउनुपर्ने बाध्यतामा कास्कीबासी छन् ।

कास्कीमा कम स्थानीय तह हुँदा समस्या आएको नागरिकस्तरबाटै बताइने गरेको छ । तर यसलाई दलहरुले खासै चासो दिएको नपाइएपनि गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य श्रीनाथ बरालले यो एजेण्डा उठाएका छन् ।

उनले आफू निर्वाचित भए कास्कीमा स्थानीय तह विभाजन गर्ने उद्घोष गर्दै शासन व्यवस्था अनुरुपको सेवा प्रवाह जनतामा पुर्‍याउने बताए । पोखरा महानगरमा पछि थपिएका वडाको भूगोल ठूलो हुँदा सेवाग्राही समस्यामा रहेको भन्दै उनले पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्याउनुपर्ने उद्घोष गरे ।

राज्यको पुन संरचना जनताको घरदैलोमा सेवा दिन गरिएको उनले स्मरण गराएका छन् । ‘राज्यको पुनसंरचना जनतलाई घरदैलोमै सेवा दिन गरिएको हो’ उनले भने, ‘कास्कीमा स्थानीय तह कम हुँदा सुविधा लिन नै टाढा धाउनुपर्ने बाध्यता छ । यस अगाडिका जनप्रतिनिधिले यस विषयमा जनताको आवाजलाई सुन्ने प्रयास गरेनन् ।

अब मलाई जनताले मत दिएर जिताउनुभयो भने दलहरुलाई कन्भिन्स गरेर कास्कीमा स्थानीय तह थप्नेछु । जनतालाई राज्य पुनसंरचना अनुरुपको सुविधा प्रदान गर्नुपर्छ । केन्द्रमा रहेर मैले यो एजेण्डा उठाउँदै पुरा गराई छाड्नेछु ।’

उम्मेदवार बरालले पोखराको वडा नम्बर २१ को उदाहरण दिँदै त्यहाँका जनताले वडा ठूलो हुँदा र भेग नमिल्दा परेको अप्ठ्यारो आफूले गहिरोगरी महसुस गरेको बताए । यस्तै समस्या ग्रामिण वडाले भोग्नु परेको उनले सुनाएका छन् । २१ नम्बर वडालाई दुई वटा वडामा विभाजित गर्नुपर्ने बताएका उनले पोखरा महानगरपालिकाबाट लेखनाथलाई छुट्याइनु पर्ने उद्घोष गरेका छन् ।

राज्य पुन संरचना गर्दा कास्कीमा जम्मा पाँच वटा स्थानीय तह बनाइएको छ । रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका छन् भने पोखरा महानगरपालिका रहेको छ । पोखरा महानगरपालिकाको क्षेत्रफल नै चार सय ६४.२५ बर्गकिलोमिटर रहेको छ । पोखरा महानगर देशकै सबैभन्दा धेरै क्षेत्रफल रहेको महानगर हो ।

नेपाली कांग्रेस गण्डकीका सभापति शुक्राराज शर्माले कास्कीमा स्थानीय तह थोरै हुँदा सेवा प्रवाहमा समस्या आएको महसुस नगरिकस्तरबाटै भएको टिप्पणी गरे । उनले अन्यत्र थोरै जनसंख्या भएका जिल्लामा समेत धेरै पालिका रहेका तर कास्कीमा ठूलो जनसंख्या हुँदाहुँदैपनि थोरै पालिका हुँदा जनताले दुखपाएको कुरा गठबन्धनमा रहेका दलहरुले पनि महसुस गरेको विषयलाई उम्मेदवार बरालले उठाएको उनको भनाई छ ।

‘पालिका थोरै भए । सेवासुविधा लिन टाढा धाउनुपर्‍यो भन्ने कुरा जनस्तरबाटै उठेको कुरा हो । यसलाई सम्बोधन गर्छु भनेर श्रीनाथजीले जुन उद्घोष गर्नुभयो यसमा जनताकै भावना अनुरुप उहाँले बोल्नुभयो । जनताको भावना अनुरुप चल्नु दलहरुको दायित्व हो । यस हिसावले उहाँले गठबन्धनको भावना अनुरुप नै बोल्नुभएको हो’ उनले भने ।

कास्कीमा पालिका थप्नुपर्छ भन्ने कुरा जनस्तरबाट पनि उठेको नेकपा एमाले कास्कीका कार्यबहाक अध्यक्ष तेजनारायण अधिकारी बताउँछन् । तर अहिले निर्वाचनको ऐजेण्डा बनाउन भन्दापनि दलहरुको सहमतिमा यो अगाडि बढाउने विषय रहेको उनले अथ्र्याए । ‘पहिले ग्रेटर पोखरा निर्माणका कुरा भए ।

गाउँहरुलाई पोखरामा नगाभ्ने कुरापनि भएको हो । तर यहाँ जोडिनुपर्छ भनेर आवाज नै उठ्यो । अहिले गलत भयो भन्ने परेको छ । लेखनाथवासीको भावना आफुहरु पोखराबाट छुट्टिनुपर्छ भन्ने नै पाएका छौं । यो एजेण्डा कुन उम्मेदवारले उठाउनुभयो त्यो मलाई थाहा भएन । एजेण्डा सहि नै हो । तर यो सबैदल सहमत भएर अगाडि बढाइनुपर्ने एजेण्डा हो’ उनले भने ।

तपाईको प्रतिक्रिया