सुविधा पुर्याउँछु, गाउँ उजाड बन्न दिन्नँः प्रकाश

पोखरा ।
नेपाली कांग्रेसका युवा नेता प्रकाश बरालले घान्द्रुकका समस्याका विषयमा आफू जानकार रहेको भन्दै यहाँको विकासमा आफूले विशेष ध्यान दिने प्रतिवद्धता जनाएका छन् । चुनाव प्रचारप्रसारका क्रममा कास्कीको घान्द्रुक आएका बरालले यहाँ मुख्य समस्या सडक भएकाले सडक स्तरोन्नतिका लागि स्थानीय र संघ सरकारसँग समन्वय गरी काम गर्ने उल्लेख गरे ।
‘यहाँको समस्या पुल र बिजुली पनि हो । खोलाकै कारण घान्द्रुक आउने पर्यटकलाई समस्या भएको मैले बुझेको छु । यो समस्या छिट्टै समाधान हुन्छ’, उनले भने, ‘नेपालको एउटा प्रमुख पर्यटकीय क्षेत्र र आन्तरिक पर्यटकको पहिलो रोजाइ घान्द्रुकको प्रवद्र्धनका लागि आवश्यक सबै पहलकदमी लिनेछु ।’
बिजुलीको केन्द्रीय प्रसारण लाइनको समस्या समाधान, हाइड्रोको प्रवद्धन, पुराना पदमार्ग संरक्षण र नयाँ पदमार्ग खोजी आफ्नो कार्ययोजनामा रहेको उनले सुनाए । बरालले शिक्षा, स्वास्थ्य, रोजगारीका समस्याले गाउँ उजाडिएको भन्दै गाउँमै आधारभूत आवश्यकता पूरा गरेर सहर पसेकालाई गाउँ फर्काउन र बस्ती टनाटन बनाउन आफूले प्रयत्न गर्ने स्पष्ट पारे । उनले भने, ‘गाउँमा आधारभूत सुविधा पनि नभएका कारण गाउँ, बस्ती उजाड भएका हुन् । यहाँ के आवश्यक छ त्यो पूरा गर्न प्रयत्नशील रहनेछु ।’
आफूले भाषणमात्र नगर्ने भन्दै उनले काम नै गरेर देखाउन आफू चुनावी मैदानमा ओर्लिएको स्पष्ट पारे । विगतमा पनि आफूले सरकारी सेवामार्फत सेवा गरेको र अब पनि जनताकै सेवामा तल्लिन रहने उनले बताए ।
‘हिजोका दिनमा गाईको दूध बेचेर स्कुलको फि तिरेको, दसैंमा एक जोर नयाँ कपडा किनेर वर्ष नै धानेको र ढोको नाम्लो बोकेर घाँस दाउरा गरेको व्यक्ति हुँ’, उनले भने, ‘गाउँमा बसिसकेपछि कुटो, कोदालो, डोको, नाम्लो गर्नुको पीडा, थाप्ला, ढाड र हातका ठेलाका व्यथाका विषयमा पनि पूरै जानकार छु । यिनै कथा र व्यथालाई महसूस गर्न र समस्यालाई सम्बोधन गर्न म केही न केही प्रयत्न र प्रयास गर्न सक्छु ।’
जनताले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्ने र प्रतिवद्धतालाई व्यवहारमा रुपान्तरण गर्ने उनको वाचा छ ।
तपाईको प्रतिक्रिया